खसी चोरेको आरोपमा पक्राउ परेर छुटेका कालु बोका चोरेको आरोपमा पक्राउ

लमजुङ :खसी चोरी गरेको अभियोगमा करिब साँढे दुई महिना अघि पक्राउ परेर धरौटी छुटेका एक युवक बोका चोरी गरेको आरोपमा पुन: पक्राउ परेका छन्।

लमजुङको मध्यनेपाल नगरपालिका-६ का शिरोमणि भट्टराईको दुई वटा बोका चोरी गरेको आरोपमा प्रहरीले क्व्होलासोथार गाउँपालिका-४ भुजुङका घर भएका ३४ वर्षीय कालु गुरुङलाई नियन्त्रणमा लिएको हो।

असोज ३ गते बुधबार रातीदेखि बोका हराएको भन्ने सूचनाका आधारमा प्रहरीले खोजतलास गर्दै जाँदा मध्यनेपाल नगरपालिका-५ रिङ्नेको जंगलमा बोका फेला परेको थियो। आरोपित गुरुङले उक्त बोका बिक्री गर्नका लागि तनहुँको दमौलीतर्फ लैजाँदै गर्दा प्रहरीले पिछा गरेको थाहा पाए पछि उक्त बोकाहरु जंगलमै छाडेर फरार भएका थिए।

उनलाई मध्यनेपाल नगरपालिका-५ पराजुलीबेसीबाट बुधबार बिहान पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक थानेश्वर चपाइँले जानकारी दिए। आरोपित गुरुङ उपर जिल्ला अदालत लमजुङबाट चोरी सम्बन्धी कसूरमा ७ दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यसअघि लमजुङको बेसीशहर नगरपालिका वडा नं- ०९ साम्दी बस्ने शान्ति बहादुर बस्नेतको खोरबाट एउटा खसी र सोही ठाउँ बस्ने गोविन्द वि.कको घरबाट एउटा खसी चोरी गरी बिक्री वितरण गर्न बेसीशहरबाट डुम्रे तर्फ जाँदै गरेको बसको डिक्किमा राख्दै गर्दा गुरुङ पक्राउ परेका थिए।

त्यसपछि अदालतमा मुद्दा दर्ता गरी फैसला नहुञ्जेलसम्मका लागि ५० हजार रुपैयाँ धरौटी तिराएर तारेखमा छाडिएका गुरुङ पुनः बोका चोरेको आरोपमा पक्राउ परेका हुन्।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?