महभिर गाउँ पहिरोको जोखिममा

खेतबारी,सिँचाइ कुलो र खानेपानीको पाइप बगायो

म्याग्दी:म्याग्दीको मालिका गाउँपालिका–४ महभिरको बस्ती पहिरोको जोखिममा परेको छ । बस्तीमाथिको पाखोबाट खसेको पहिरोले दुुई वटा घर भत्किनुका साथै खानेपानी र सडक आयोजनामा क्षति पुगेको छ । वडासदस्य गर्वे गुुरुङले काले कामी र तुलबहादुर घर्तीको घर भत्किएको र १३ घर जोखिममा परेको जानकारी दिनुभयो ।

“पहाडको फेदीबाट सुुरु भएको दुई वटा पहिरो फेदीमा रहेको रितुङखोला सम्म पुगेको छ”, उहाँले भन्नुभयो, “ट्याङ्की, मुहान र पाइपलाइनमा क्षति पुगेकाले २५ घरधुरीले प्रयोग गर्ने खानेपानी आयोजना अवरुद्ध भएको छ ।”

फूलबारी–महभिर–च्युरीबोट सडक अवरुद्ध भएको छ । पहिरोले गाउँको बिचमा ठूलाठूला खोल्सी बनाएको छ । खोल्सा छेउछाउको जमिन चिरा चिरा भएको छ । दुई सय रोपनी भन्दा बढी खेतीयोग्य जमिनमा पनि पहिरोले क्षति गरेको छ ।

गत बुधबार राति आएको पहिरोले तुलबहादुरको गोठमा रहेका एक वटा राँगो र एक वटा गोरु मरेका थिए । “हामी त्यो दिन घरमा नभएकाले पहिरोबाट बचियो”, तुलबहादुर भन्नुभयो, “११ जनाको परिवार आफन्तकोमा आश्रय लिएर बसेका छाँै ।”

काले कामीले पहिरोले पुरिएकोबाहेक अर्को ठाउँमा रहेको घडेरीमा पनि पहिरोको जोखिम भएकाले कहाँ बस्ने भन्ने चिन्ताले सताएको बताउनुभयो । पूर्णदेवी घर्र्ती, सहबहादुर घर्र्ती, सहबहादुर सुुनार, लालबहादुर कामी, तिलक कामी, गोेरे कामी, पोविसरा सुुनार, वीरबहादुर कामी, मुक्तिराम सुनार, कुुलप्रसाद घर्ती, भीमप्रसाद सुनार, रहमन घर्ती र कुमारी घर्तीको घर जोखिममा रहेका वडासदस्य गुरुङले बताउनुभयो ।

सो ठाउँमा गत हिउँदमा पनि सुुक्खा पहिरो खसेर एक वटा घरमा क्षति गरेको थियो । पहिरो प्रभावित क्षेत्रको बिहीबार गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रेशमबहादुर जुग्जालीले निरिक्षण गर्नुभएको थियो ।

“पहिरोबाट घरवास गुमाएकालाई जिल्ला प्रशासन कार्यालय मार्फत राहतको व्यवस्था हुन्छ”, उहाँले भन्नुभयो, “घर पुनःनिर्माणका लागि तिनै तहका सरकारको साझेदारीमा रु पाँच लाखका दरले अनुदान उपलब्ध गराउने व्यवस्था भएकाले सोहीअनुसार सहयोग गर्छौं ।”

तत्कालीनरुपमा खानेपानी आपूर्ति र सडक मर्मत तथा पहिरोबाट थप क्षति हुन नदिने र दीर्घकालीन रुपमा पहिरो नियन्त्रण तथा बस्ती संरक्षण अथवा स्थानान्तरणको योजना कार्यान्वयन गरिने उहाँले बताउनुभयो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?