पर्वतमा वर्षा र हावाहुरीले धानबालीमा क्षति

पर्वत:मनसुन बाहिरिने बेला परेको वर्षासँगैको असिना र हावाहुरीका कारण पर्वतमा धानबालीमा क्षति पुगेको छ । सोमबार र मङ्गलबारको वर्षा तथा हावाहुरीले जिल्लाका विभिन्न स्थानमा लगाइएको धानबालीमा क्षति पुगेको हो । केही स्थानमा धान ढलेर सोत्तर बनेको कृषकले गुनासो गरेका छन् ।

पर्वतको कुश्मा, फलेवास, विहादी, जलजला, पैयुँ र मोदीका विभिन्न वडामा लगाइएको धानबालीमा हावाहुरी र असिनाले क्षति पुर्‍याएको छ । कतिपय ठाउँमा सामान्य असिनासमेत परेर धान झारेको कुश्मा नगरपालिका-८ चुवाका कृषक रुद्रप्रसाद शर्माले जानकारी दिनुभयो । पाक्न थालेको धान हावा र पानीले पूरै सोत्तर बनाएको उहाँको गुनासो छ ।

त्यसैगरी, कुश्मा वडा-१ पाङको फाँट, वडा-९ ज्ञादीको फाँट, कुर्घा र बर्राचौरको फाँटमा समेत धान पूरै ढलाएको छ । यस्तो बेलामा धान ढल्दा फल राम्रोसँग नलाग्ने कृषि प्राविधिकहरूले बताएका छन् । फल लाग्ने बेलामा धान ढल्दा राम्रोसँग नपाक्ने, गेडा पुष्ट नहुने र उत्पादनमा समेत ह्रास आउने कुश्मा नगरपालिकाका कृषि शाखाप्रमुख बलबहादुर जिटीले जानकारी दिनुभयो ।

कृषि ज्ञान केन्द्रका प्रमुख वरिष्ठ कृषि विकास अधिकृत परशुराम अधिकारीले वर्षा, असिना र हावाहुरीले धानबालीमा पुर्‍याएको क्षतिबारे विवरण सङ्कलन भइरहेको जानकारी दिनुभयो । उहाँले सातवटै पालिकाबाट धानबालीमा पुगेको असरका बारेमा विवरण सङ्कलनको काम भइरहेको बताउनुभयो ।

“हामी पनि अनुगमनमा पुगेका थियौ”, अधिकारीले भन्नुभयो, “धान धेरैजसो ढलेको छ, तर बाक्लो असिना नपरेका कारण ठुलो क्षति हुन भने पाएन ।” क्षतिको विवरण हेरेर क्षतिपूर्तिका लागि पहल गरिने अधिकारीले बताउनुभयो । जिल्लाका उच्च पहाडी भेगमा भने धान पाकेर पहेँलपुर भइसकेको छ । कृषक दसैँको छेको पारेर धान थन्क्याउने तयारीमा रहेका छन् । पर्वतको मुख्य बालीका रूपमा धानबाली हो । जिल्लाको झन्डै नौ हजार हेक्टर क्षेत्रफलमा धानखेती हुँदै आएको छ । रासस

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?