पोखरामा पुष्प मेला आयोजना गरिँदै

गण्डकी:तिहारको पूर्वसन्ध्यामा पोखरामा ‘सातौँ गोदावरी पुष्प प्रदर्शनी तथा चौथो गण्डकी प्रादेशिक पुष्प मेला–२०८०’ आयोजना गरिने भएको छ ।

फ्लोरीकल्चर एशोसिएसन नेपाल जिल्ला समिति कास्कीद्वारा आयोजित सो मेला यही कात्तिक १७ देखि २० गतेसम्म पोखरा रङ्गशालामा सञ्चालन हुने जनाइएको छ ।

पुष्प व्यवसायको विस्तार तथा बजार प्रवर्द्धन गर्ने उद्देश्यले उक्त प्रदर्शनी मेलाको आयोजना गरिएको एशोसिएसनका अध्यक्ष डिलबहादुर गुरुङले बताउनुभयो । उहाँका अनुसार मेलामा फूलका २०, कृषिका तीन र सूचनामूलक एक गरी २४ प्रदर्शनीकक्ष रहनेछन् ।

“गोदावरी फूलका विभिन्न प्रजातिका फूल र बिरुवासहित अहिलेको याममा फुल्ने सयपत्री तथा मखमली फूलको प्रदर्शनी तथा बिक्री–वितरण हुनेछ”, अध्यक्ष गुरुङले भन्नुभयो, “बीस हजार बढीले पुष्प प्रदर्शनीको अवलोकन गर्ने अपेक्षा लिइएको छ ।”

एशोसिएसनका पूर्वअध्यक्ष दया दुवाले ‘सुन्दर नगरी पोखराको पहिचान, व्यावसायिक प्रवर्द्धनमा गोदावरीको शान’ भन्ने नाराका साथ प्रदेशस्तरीय पुष्प मेला आयोजना गर्न लागिएको बताउनुभयो । मेलाबाट पुष्प व्यवसाय गर्न चाहाने किसान तथा फूलप्रति अभिरुचि राख्ने ग्राहकले प्रत्यक्ष लाभ लिने उहाँको भनाइ छ ।

फूलखेती र एशोसियएनले गर्दै आएका गतिविधिबारे पनि प्रदर्शनीस्थलमा जानकारी दिइने पूर्वअध्यक्ष दुवाले बताउनुभयो । “पछिल्लो समय पोखरामा पुष्प व्यवसायप्रति आकर्षण बढेको छ, नर्सरीबाट बिरुवा लगेर गाउँ–गाउँमा फूल उत्पादन गर्ने किसान पनि उत्तिकै हुनुहुन्छ”, उहाँले भन्नुभयो, “पहिले ९० प्रतिशत भारतीय फूलमा निर्भर रहनुपथ्र्यो, अहिले त्यो घटेर १५–२० प्रतिशतमा पुगेको छ ।”

तिहारका बेला भने माग धान्न नसकिने भएकाले भारतबाट फूल आयात गर्नुपर्ने अवस्था रहेको व्यवसायी बताउँछन् । एशोसिएसनका अनुसार गण्डमी प्रदेशमा ४८ नर्सरी सञ्चालन गर्ने पुष्प व्यवसायी छन् । नर्सरीबाट बिरुवा लगेर फूल उत्पादन गर्ने किसानको सङ्ख्या भने धेरै छ ।

व्यवसायी दुवाले उन्नत बीउबिजन र आधुनिक खेती प्रविधिले पुष्प व्यवसाय फस्टाउँदै गएको बताए । उनले छिटो फुल्ने हुँदा किसानको आकर्षण उन्नत जातका फूलमा रहेको उल्लेख गरे ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?