एभोकाडोको घाँस पशुपन्छीहरुको लागि हानिकारक
काठमाण्डौ :एभोकाडोको घाँस पशुपन्छीहरुको लागि हानिकारक हुने एक अध्ययनले निष्कर्ष निकालेको छ ।
पशुचिकित्सा सम्बन्धी जानकारी दिने जर्नल एमएसडी म्यानुअलले एक रिपोर्ट प्रकाशित गर्दै एभोकाडोको पात, फल, बीउ र बोक्रामा पर्सिन नामको हानिकारक पदार्थ हुने निष्कर्ष निकालेको हो । उसले उक्त हानिकारक पदार्थले पशुहरुलाई हानि पु¥याउने भन्दै पशुहरुलाई नदिन आग्रह गरेको छ ।
पातमा सबैभन्दा बढी विषालु पदार्थ पाइन्छ । पर्सिनले गाईभैँसी, बाख्रा, घोडा, खरायो, कुकुर लगायतका पशु र चराहरुलाई पनि असर गर्ने प्रतिवेदनमा उल्लेख छ । एभोकाडोको घाँस खाँदा स्तनधारी जनावरहरुको स्तनग्रन्थीमा समस्या ल्याउनुको साथै कतिपयमा बाँझोपन देखिन्छ । यस्तै पशुहरुमा बान्ता र पखाला पनि लाग्न सक्छ ।
एभोकाडोमा पाइने पर्सिनका कारण समस्या भएपछि उपचारको लागि अहिलेसम्म कुनै व्यवस्था नरहेकोले लक्षणका आधारमा उपचार गर्नुपर्ने बताइएको छ । अध्ययन प्रतिवेदनमा पशुहरुलाई एभोकाडोको घाँस तथा फल खुवाउँदा पशुहरुबाट हुने उत्पादन घट्नुको साथै पशु मर्नेसम्म सम्भावना रहेकोले घाँस नखुवाउनु नै उपयुक्त हुने पनि प्रतिवेदनमा भनिएको छ । नेपालका ग्रामिण भेगमा समेत एभोकाडो रोप्ने क्रम बढ्दै गएको छ ।
