प्लाष्टिकबाट बनेका माला बिक्री वितरण गर्न प्रतिवन्ध

कञ्चनपुर:तिहारका बेला प्लाष्टिकबाट बनेका माला बिक्री वितरणमा कञ्चनपुरको कृष्णपुर नगरपालिकाले प्रतिवन्ध लगाएको छ ।

वातावरणीय प्रदूषण कम गर्ने उद्देश्यले नगरपालिकाले प्लाष्टिकबाट बनेका माला बिक्री वितरणमा रोक लगाउने निर्णय गरेको हो । प्लाष्टिकबाट बनेका माला नगरपालिका क्षेत्रभित्र बिक्री वितरण गर्न नपाउने गरी निर्णय गरिएको नगर प्रमुख हेमराज ओझाले बताए ।

अटेर गरेर प्लाष्टिकबाट बनेका माला बिक्री वितरण गरेको पाइए प्रचलित कानुनअनुसार हदैसम्मको कारवाही गर्नाका साथै बिक्रीका लागि ल्याइएका माला जफत गरिने उनको भनाइ थियो ।

“घर आँगनमै उत्पादन हुने मखमली, गोदावरी, सयपत्रीलगायत फूलका मालाको प्रयोगलाई बढावा दिन प्लाष्टिकबाट बनेका माला बिक्री वितरणमा रोक लगाएका छौँ नगरप्रमुख ओझले भने, “यस कार्यबाट फूलको व्यवसायिक खेती गर्ने किसानलाई हौसला मिल्छ र खेती गर्दै आएका किसानलाई बजारको अभाव हुदैन ।”

उनका अनुसार नगरपालिका क्षेत्रमा तीन किसानलाई अनुदान रकम उपलव्ध गराई व्यवसायिक खेतीमा संलग्न गराइएको छ । “फूल खेतीमा संलग्न किसानलाई यस कार्यले प्रोत्साहन गर्छ” नगरप्रमुख ओझले भने, “विकल्प हुँदा हुँदै मानव स्वास्थ्यमा नराम्रो असर गर्ने, वातावरणीय प्रदूषणलाई बढावा दिने प्लाष्टिकबाट बनेका मालालाई निरुत्साहित गर्न बिक्री वितरणमा रोक लगाएका हौँ ।”

अन्य किसानलाई पनि व्यवसायिक फूल खेती गर्नका लागि अनुदान दिने तयारीमा रहेको उनले बताए । नगरप्रमुख ओझाले घर आँगनमै फुलेको फूल प्रयोग गर्न नगरबासीसँग आग्रहसमेत गरे ।

प्लाष्टिकबाट बनेका माला बिक्री वितरणमा रोक लगाउने जिल्लाकै पहिलो नगरपालिका कृष्णपुर रहेको छ । फूलको व्यवसायिक खेती गर्दै आएका किसानले यस निर्णयको प्रशंसा गरेका छन् । रासस

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?