सरकारले सहयोग नगरेपछी एक हजार किसान मिलेर ११ किलोमिटर नहर सफाइ

टीकापुर:कैलालीको जानकी गाउँपालिका–७ का किसानले ११ किलोमिटर लामो नहर सफा गर्न थालेका छन् । त्यस क्षेत्रका करिब एक हजार किसानले भुर्षा सिँचाइअन्तर्गतको नहर सफाइ गर्न थालेका हुन् ।

उनीहरूले दैनिक डेढ किलोमिटरभन्दा बढी सफाइ गर्ने गरेका छन् । चार सय ८५ हेक्टर क्षेत्रफलमा सिँचाइ पुर्याउने उक्त नहर झारजङ्गल र पटानी हुँदा खेतमा पानी अभाव हुन थालेपछि किसान आफँैले नहर सफा गर्न थालेको भुर्षा कुला सिँचाइ समितिका अध्यक्ष गोपाल गिरीले बताए। “एघार किलोमिटर लामो कुलो चार दिनदेखि सफा गर्दैछौँ”, अध्यक्ष गिरीले भने, “हजारौँ किसान सहभागी छौँ । यतिखेर गहुँ तथा तोरीखेतीका लागि आवश्यक पानी उपलब्ध गराउने लक्ष्य छ ।”

उनले भुर्षा सिँचाइ कार्यक्रमलाई सरकारले सहयोग नगरेको गुनासो गरे। “विधिवतरूपमा विसं २०५८ देखि सञ्चालनमा आएको भुर्षा सिँचाइ कार्यक्रममा पछिल्लो समय एकपटक पनि बजेट आएको छैन”, गिरीले भने, “ किसानका समस्याका बारेमा राजनीतिक दल र जनप्रतिनिधि गम्भीर छैनन् । हजारौँ किसानको खेतीपाती सिँचाइ गर्ने कुलो सुधारमा कसैले सहयोग नगरेकाले किसान आफैँ जुटेका हौँ ।”

कुलाअन्तर्गत १२ गाउँ छन् । गाउँको भागअनुसार उनीहरूले कुलो सफा गर्ने गरेका छन् । कुलो सफाइ कार्यक्रममा सिँचाइ समितिका पदाधिकारी र गाउँका बडघरले नेतृत्व लिएर काम गरिरहेका छन् । बडघरले गाउँअनुसारको कुलाको क्षेत्रफल छुट्याइदिने गर्छन् । कुला सफा गर्दा महिलाको पनि उत्तिकै सहभागिता छ ।

“महिला–पुरुष भन्ने कुरा भएन सबै मिलेर कुला सफाइ गर्दैछौँ”, स्थानीय फूलबसिया चौधरीले भने, “कतैबाट सहयोग नभएपछि किसान आफैँ नहर सफा गर्न लागेका छौँ ।”

कुलाप्रति तीनै तहका सरकारले बेवास्ता गरेको जनाउँदै उनीहरू आक्रोशित छन् । “किसानका बारेमा सुन्ने कोही भएनन्”, स्थानीय खैरे विश्वकर्माले भने, “११ किलोमिटर कुलाले गर्ने सिँचाइ र किसानका बारेमा सोच्ने कोही भएनन् । खेतीपातीमै भविष्य खोजेकाहरू कति चिन्तित छन्, नेतृत्वलाई चासो छैन ।”

बडघर किसान सबै मिलेर सिँचाइका लागि चार दिनदेखि कुलो सफा गर्न थालेको भागीराम चौधरी बताए। “कुलामा माटो धेरै थुप्रिएको थियो, हामीले धेरै मेहनत गरेर सफा गरेका छौँ”, उनले भने, “कुलो सफा गरेपछि नागरिक पनि खुसी छन् । हामी अगुवा पनि खुसी भएका छौँ ।” रासस

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments