खाद्यद्वारा किसानको दुई हजार पाँच सय क्वीन्टल धान खरिद

दोधारा चाँदनी (कञ्चनपुर):खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कञ्चनपुरले किसानबाट दुई हजार पाँच सय ८० क्वीन्टल धान खरिद गरेको छ । यस वर्ष खाद्यले समयमै धान खरिद सुरु गरेपनि थोरै मात्रामा किसानले खाद्यलाई धान बिक्री गरेका छन् ।

यस वर्ष कञ्चनपुरमा पन्ध्र हजार क्विन्टल धान गरिद गर्ने लक्ष्य भए पनि लक्ष्य भेट्टाउन गाह्रो रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कञ्चनपुरले जनाएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कञ्चनपुरका शाखा प्रमुख तपेन्द्र उपाध्यायले हालसम्म दुई हजार पाँच सय ८० क्विन्टल धान खरिद भएको जानकारी दिनुभयो ।

“पुस मसान्तसम्म किसानका धान खरिद गर्ने लक्ष्य छ”, उहाँले भन्नुभयो, “किसानहरु धान बिक्रीका लागि आउने क्रम जारी छ ।” गत वर्ष १४ हजार क्वीन्टल धान खरिद गर्ने लक्ष्य लिए पनि तीन हजार क्विन्टल धान मात्रै खरिद भएको थियो । यो वर्ष १५ हजार क्विन्टल खरिद गर्ने लक्ष्य लिए पनि लक्ष्य पूरा हुने सम्भावना न्यून रहेको कम्पनीको भनाइ छ ।

कम्पनीले विगतमा जिल्लाका अन्य ठाउँमासमेत धान खरिदका लागि केन्द्र स्थापना गर्ने गरेको भए पनि यसवर्ष कर्मचारी र भौतिक पूर्वाधारको अभावले महेन्द्रनगरस्थित कार्यालयमा मात्रै धान खरिद गर्ने गरेको छ । खाद्यसँग धान बिक्रीका लागि प्रक्रियागत अल्झनले गाउँमै व्यापारीसँग न्यून मूल्यमा धान बिक्री गर्नुपरेको किसानको गुनासो छ ।

“खाद्यले वडाको सिफारिस ल्याउ भन्छ वडामा रिफारिस गरेको पनि शुल्क तिर्नुपर्छ”, किसान खुसी रानाले भन्नुभयो, “सरकारले किसानको हितमा निर्णय गरिदिए सजिलो हुन्थ्यो ।” खाद्यले कञ्चनपुरमा कात्तिक १५ गतेदेखि धान खरिद सुरु गरेको हो । कृषि ज्ञान केन्द्रका अधिकृत हरिदत्त जोशीले कञ्चनपुरमा धानको उत्पादकत्व चार मेट्रिक टन प्रतिहेक्टर रहेको जानकारी दिनुभयो । “गतवर्ष तीन दशमलव ९२ मेट्रिक टन थियो । यो वर्ष वृद्धि भएको हो”, उहाँले भन्नुभयो, “धान र गहुँमा कञ्चनपुर आत्मनिर्भर छ ।” उहाँले कञ्चनपुरको जनसङ्ख्यालाई पर्याप्त भई ८४ हजार टन खाद्यान्न बाहिर जाने गरेकोे बताउनुभयो । रासस 

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments