किसानले फलाए नौ किलोको एउटै काउली

गलकोट: बागलुङ नगरपालिका–९ तित्याङ थापाथरका पदम खत्रीको खत्री एग्रो फार्ममा नौ किलोको एउटै काउली फलेको छ । विसं २०६६ मा एउटा प्लाष्टिक टनेलबाट तरकारी खेती थालेका बागलुङ नगरपालिका–९ तित्याङ थापाथरका खत्री यतिबेला यस क्षेत्रकै सफल कृषकमा गनिन्छन् ।

विसं २०६६ सालअघि ज्यालामजदुरी गर्दै आएका खत्रीको कृषि क्षेत्रको लगाव, मेहनत र निरन्तरताका कारण अहिले १८ रोपनी जग्गामा फैलिएको तरकारी फार्मको मालिकभएका छन् ।

उनको फार्ममा यसपटक नौ किलोको एउटै काउली फलेको छ । खत्रीको अहिले सानाठूला गरी आठ प्लाष्टिक टनेलमा तरकारी खेती छ । कृषि क्षेत्रको निरन्तर परीक्षण र मेहनतका कारण खत्रीले मौसमी तथा बेमौसी तरकारी खेतीमा रमाउने क्रममा यसपटक आठ केजी आठ सय ८० ग्राम तौल भएको काउली फलेको खत्रीले जानकारी दिए ।

“फार्ममा निकै ठूला काउली फलेका थिए, फार्मको सबैभन्दा ठूलो काउली टिपेर जोख्ने क्रममा नौ केजीको रहेको पाइयो”, खत्रीले भने, “लामो समयको मेहनत र परिश्रमका कारण यो अवस्थामा आउन सफल भएको महसुस भयो ।”

आफ्ना साथीभाइ वैदेशिक रोजगारीका लागि पलायन हुँदै गर्दा खत्रीको मनमा कहिलै विदेश जाने योजना नआएको सुनाए । स्वदेशमै केही गर्न सकिन्छ भन्ने सोचका साथ कृषि कर्ममा तल्लीन खत्रीले वार्षिक १० लाख आम्दानी गर्दै आएका छन् ।

“चार÷पाँच किलोसम्मको काउली त फलेकै थिए, यसपटक अलि ठूलो काउली फलेपछि जोख्न मन लाग्यो, काउली जोख्दा नौ केजी रहेको पाइयो, स्नोम्याटिक जातको काउली हो भदौमा रोपेको काउली पुसको ७ गते टिपेर जोख्दा नौ केजी रहेको पाइयो, काउलीको तौल गरेको तस्बिर तथा श्रव्यदृश्य कृषि ज्ञान केन्द्रलाई समेत पठाएको छु”, खत्रीले भने

अहिले ब्रोकाउली १५ क्विन्टल बिक्री गरेको बताउँदै आफूले बिक्री गरेको काउली र गोलभेँडा गलकोटसम्म निर्यात भएको खत्रीले बताए । खत्रीले यसअघि छ केजी ५० ग्रामको काउली फलाएको सुनाए ।

तरकारी खेती फस्टाउँदै गएपछि भाडामा आठ रोपनी र पाँच रोपनी बाँझो जग्गालाई सदुपायोग गर्दै खत्रीले व्यावसायिक तरकारी खेती गर्दै आएका छन् । खत्रीको फार्ममा आठ वटा प्लाष्टिक टनेलमध्ये दुई वटा हाइटेक र अन्य परम्परागत टनेल रहेका छन् । खत्रीले नौ किलोको काउली फलाउने दिनसम्म आउन कृषि ज्ञान केन्द्र बागलुङको ठूलो प्राविधिक सहयोग रहेको बताए । रासस

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?