सामुदायिक वनलाई उत्पादनसँग जोड्न निउरो, सिस्नो र बाँको खेती

ढोरपाटन (बागलुङ):हिजोआज गाउँ रित्तिँदै गएपछि सामुदायिक वन पनि झाडीले भरिँदै गएका छन् । चरिचरन, घाँस, दाउरा र स्याउलाका लागि प्रयोग हुने वन अचेल सुनसान हुन थालेकाले काठेखोला गाउँपालिका–७ ले प्रयोगविहीन बन्दै गएका सामुदायिक वनलाई उत्पादनसँग जोड्न थालेको छ ।

वडा कार्यालयको अग्रसरतामा यहाँका मालुका, पातल, पाङखोला, चित्रे, तितेभारी गरी चार सामुदायिक वनमा निउरो, सिस्सो, नागबेली र बाँको लगाउन थालिएको छ । वनका अनावश्यक झाडी पन्छाएर तरकारी तथा औषधिजन्य वनस्पति र तरकारीखेती गर्न लागिएको हो ।

चालु आर्थिक वर्षमा विनियोजित रु एक लाखबाट सामुदायिक वनमा ती वनस्पति लगाउन थालिएको काठेखोला गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर लामिछानेले जानकारी दिए । सुरुमा करिब १२ रोपनी सामुदायिक वनमा खेती गर्ने योजना रहेको र आगामी वर्षदेखि थप क्षेत्रमा पनि यसलाई विस्तार गरिने उनको भनाइ थियो । प्रयोगविहीन भएको जङ्गललाई उत्पादन र आम्दानीसँग जोड्न बिरुवा सङ्कलन गरिरहेको र निउरो कम भएकाले म्याग्दीबाट मगाएर लगाइने अध्यक्ष लामिछानेले बताए ।

“बिरुवाहरु खासै बाहिरबाट ल्याउनु पर्दैन, यहीँकै जङ्गलबाट बिरुवा सङ्कलन गरेर लगाउनेछौँ, थप बढाउनका लागि म्याग्दीबाट ल्याउनुपर्छ, सिस्सो, नागबेली र बाँको यहीँ पनि प्रशस्तै पाइन्छ तर निउरोको बिरुवा कम हुने हुँदा म्याग्दीबाट मगाएर लगाउने योजना बनाएका छौँ”, उनले भने, “बसाइँसराइले गर्दा वनजङ्गलको प्रयोग कम भएको छ, वनको खाली ठाउँमा निउरो, सिस्सो, नागबेली र बाँकोखेती गरेर स्थानीयवासीलाई उत्पादन र आम्दानीसँग जोड्न यो काम गर्दैछौँ, सुरुमा केही मेहनत गर्नुपर्छ, पछि–पछि यसबाट राम्रै प्रतिफल आउने अपेक्षा गरेका छौँ ।”

काठेखोला गाउँपालिका–७ का उजेली शर्माले पहिलेको तुलनामा अहिले वनमा रुख बिरुवासँगै झाडी बढेकाले वडा कार्यालयले ल्याएकको योजना गाउँलेका लागि निकै लाभदायी हुने बताए । अहिले निउरो टिप्न जङ्गल जानुको सट्टा बजारबाट किनेर ल्याउने गरिएको उनको भनाइ थियो । अब गाउँकै जङ्गलमा जङ्गली तरकारी उत्पादन गरेर बजार पठाउने शर्माले बताए ।

“अचेल गाउँका मानिस अल्छी बन्दै गएकाले करेसाबारीमा तरकारी फलाउन छाडेर आयातित तरकारी किन्ने गरेका छन्”, उनले भने, “गाउँ नजिकै जति पनि वनजङगल छन्, पहिलेको जस्तो छैन, घर नजिक पनि वन फैलिन थालेको छ, उतिबेला गाउँमा धेरै मान्छे बस्थे, पशुचौपाया पाल्थे र वनमा गएर घाँस दाउरा भारीका भारी ल्याउँथे, अहिले त गाईभैँसी पाल्न छाडे, वनमा पनि जान छाडे, त्यही भएर वन बढेको छ, गाउँ वरपर रुखबिरुवा बढेर जङ्गलजस्तो बन्न थालेकाले अब गाउँ नजिकको वनमा तरकारी जातका बिरुवा लगाएर आर्थिक आयआर्जन गर्नेगरी काम गर्न लागेका छौँ ।” रासस

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?