राहतको पर्खाइमा झापाका ३२१ हात्तीपीडित

बनियानी (झापा):झापामा जङ्गली हात्तीको आक्रमणबाट जनधनको क्षति बेहोरेका हात्तीपीडित राहतको पर्खाइमा छन् । चालु आर्थिक वर्ष २०८०/८१ को साउनयता जिल्लाका विभिन्न स्थान र समयमा हात्तीको आक्रमणमा परी जनधनको क्षति बेहोरेका तीन सय २१ परिवार सरकारी राहतको पर्खाइमा छन् ।

चालु आवको गत कात्तिक २ गतेसम्म तीन सय २१ हात्तीपीडित परिवारलाई ५८ लाख २८ हजार नौ सय ४० राहत रकम माग गरी मन्त्रालयमा पठाइएको डिभिजन वन कार्यालयका झापाका वन अधिकृत ऋषिराम पराजुलीले जानकारी दिए ।

उनका अनुसार राहत माग गरिएकामा एक जना मृतकको १० लाख, तीन जना घाइतेका लागि पाँच लाख ८० हजार नौ सय ४०, चौपाया एक बराबर १० हजार, विभिन्न घरगोठमा पु¥याएको क्षतिको पूर्तिका लागि १४ लाख ८२ हजार पाँच सय, भण्डारण गरिएको अन्न क्षति बराबर छ लाख ३९ हजार छ सय र बालीनालीमा हात्तीले गरेको क्षति बराबर २१ लाख १५ हजार नौ सय रहेको छ ।

कात्तिक २ गतेयता हात्तीको आक्रमणबाट मृत्यु भएका चारसहित एक सय ९४ परिवारलाई राहत माग गर्न विवरण सङ्कलन भई प्रक्रियामा रहेको डिभिजन वन कार्यालय झापाले जनाएको छ ।

मृतक चार जनाको ४० लाख, घाइते तीन जनाका लागि दुई लाख ७० हजार नौ सय ५२, घरगोठका क्षति पुगेकाका लागि पाँच लाख ६४ हजार पाँच सय, भण्डारण गरिएको अन्न दुई लाख ५२ हजार सात सय र बालीनाली १३ लाख ८७ हजार नौ सय गरी ६४ लाख ७६ हजार ५२ राहत मागका लागि तयार गरिएको वन अधिकृत ऋषिराम पराजुलीले जानकारी दिए । हात्तीपीडितका लागि माग गरिएको राहत रकम आउन ढिलो हुँदा समस्या भएको उनको भनाइ थियो । रासस

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?