विद्यार्थीले उत्पादन गरेको च्याउ बजारमा

गलेश्वर (म्याग्दी):प्राविधिक शिक्षालयमा अध्ययनरत विद्यार्थीहरु पढाइका अतिरिक्त आम्दानीसँग पनि जोडिएका छन् । मङ्गला गाउँपालिका–२ स्थित मङ्गला माध्यमिक विद्यालय र मालिका गाउँपालिका–७ बिममा सञ्चालित किसानी कृषि प्राविधिक शिक्षालयमा बाली विज्ञान विषय अध्ययनरत विद्यार्थीले तरकारी, फलफूल च्याउ उत्पादन गरी बिक्री गरेर आम्दानी गर्न थालेका हुन् ।

मङ्गला माविमा प्राविधिक धार कक्षा (९–१२) मा बाली विज्ञान विषयमा पढाइ सुरु भएपछि विद्यार्थी कक्षा कोठाबाहेक खेतबारीमा समेत पुगेर च्याउ उत्पादन गरी बाबियाचौरमा बिक्री गर्दै आएका विद्यालयका प्रधानाध्यापक गमबहादुर खत्रीले जानकारी दिए । बजारमा विद्यार्थीले उत्पादन गरेको च्याउलाई ‘विद्यार्थी च्याउ’ पनि भन्ने गरिएको छ ।

विद्यालयले प्रयोगात्मक अभ्यासका लागि जग्गा भाडामा लिएर च्याउ खेती सुरु गरेका हुन् । सो विद्यालयका प्रधानाध्यापक खत्रीका अनुसार विद्यार्थीले उत्पादन गरेको च्याउ बजारमा प्रतिकेजी एक सय २५ मा बिक्री वितरण हुँदै आएको छ ।

“विद्यार्थीले उत्पादन गरेको च्याउ अहिले बाबियाचौर बजारमै खपत हुने गरेको छ, विद्यार्थीलाई आवश्यक कृषि औजारदेखि बीउबिजन सबै उपलब्ध गराउँछौँ, विद्यार्थीले लगाएको च्याउको बजार खोज्न समेत सघाउछौँ,” प्रअ खत्रीले भने।

विद्यालयमा आधुनिक कृषि प्रणाली र उत्पादनका बारेमा सिकेको ज्ञान परम्परागत खेती गर्दै आएका अभिभावकलाई समेत सिकाउने गरेको प्रअ खत्रीको भनाइ छ । गत माघदेखि च्याउ उत्पादनमा लागेका विद्यार्थीले फागुनको पहिलो सातादेखि बिक्री गर्न थालेका छन् । बाली विज्ञान अध्ययनरत ४४ जना विद्यार्थीले सामूहिकरुपमा च्याउ खेती गरेका छन् । विद्यार्थीको समय कक्षाकोठा र खेतबारीमा धेरै बित्ने गरेको छ । गाउँमै बाली विज्ञान पढ्न पाएकामा विद्यार्थी खुसी छन् ।

एक महिनामै उत्पादन गरी बजारमा लैजान सकिने र थोरै लगानीमा प्रशस्तै आम्दानी गर्न सकिने भएकाले च्याउ खेतीका लागि समुदायलाई समेत सन्देश प्रवाह गरेको विद्यार्थी दीपेश थापाले बताए । आइतबारसम्म बारीबाटै १७ केजीभन्दा बढी च्याउ बिक्री गरिएको उनको भनाइ छ ।

नेपाल सरकारको नमूना विद्यालय मङ्गला माविले भाडामा लिएको दुई रोपनी जग्गामा यहाँ अध्ययनरत विद्यार्थीले च्याउ, बैमौसमी तरकारी, टमाटर, प्याजको बीउलगायत उपज फलाउने गरेका छन् । विद्यालयमा २०७६ सालमा नेपाल सरकारबाट कृषि विज्ञान सञ्चालनको अनुमति पाई नियमित पढाइ भइरहेको छ । रासस

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?