इलामको बेलासेमा ‘सोलार पम्पिङ’ सिँचाइ

मङ्गलबारे (इलाम): इलाम नगरपालिका–११ स्थित बेलासेमा जलवायु अनुकूलनसम्बन्धी परियोजनामार्फत ‘सोलार पम्पिङ’ जडान गरिएको छ । परियोजनाअन्तर्गत माइखोलाको पानीलाई बेलासे गाउँमाथिको डाँडासम्म तानेर सिँचाइ पुर्‍याइएको छ ।

स्थानीय पहलका लागि क्यानडा कोष (सिएफएलआई) को सहयोगमा नामसालिङ सामुदायिक विकास केन्द्र इलामले इलाम नगरको साझेदारीमा ‘सोलार पम्पिङ’ कार्यक्रम सञ्चालन गरेको हो ।

इलामबाट झापासम्म पुग्ने छिटो बाटो तथा इलामको पश्चिमी क्षेत्र मङ्गलबारे जितपुर हुँदै झापा जोड्ने सडकमा पर्ने बेलासे गाउँमा सिँचाइ अभावका कारण हिउँदयाममा खेतबारी बाँझो राख्नुपर्ने बाध्यता थियो ।

धुलाम्मे सडकका कारण यसअघि यहाँको दैनिकी कष्टकर बनेको थियो । बाटोमुनि माइखोला बगिरहे पनि माथिको भागमा सिँचाइ सुविधा नहुँदा खेतबारी बाँझो राख्नुपर्ने बाध्यता थियो । अहिले बेलासे गाउँको मुहार फेरिएको छ । स्थानीयले तितेघारी फाँडेर बारीमा सागसब्जी लगाएका छन् । बाँझो जमिन हराभरा भएको छ ।

“अहिले खेतीपाती हरियाली देख्न सकिन्छ”, स्थानीय बुद्ध लोक्तामले भने, “खेतमा यसपाली सिँचाइ आएर तोरी मज्जाले फलेको छ । अन्य तरकारी तथा बालीले हरियाली बनाएको छ ।”

विकास केन्द्रका कार्यक्रम संयोजक घनेन्द्र भण्डारीले खोलाबाट एक सय २५ मिटरमाथि लगेर पानी झारिएको भन्दै पाइपलाइन विछ्याएर गाउँमा सिँचाइ उपलब्ध गराइएको जानकारी दिए ।

“यसअघि सागसब्जी केही पनि देख्न पाइँदैथ्यो । पानी आएपछि साग, कोपी, गोलभेँडालगायत तरकारी फेका छन् । अलिअलि बिक्री पनि भयो”, स्थानीय तारा लिम्बूले भने, “सोलार पम्पिङ निर्माण गरी दिउँसोभरी खोलाको पानी तानेर सिँचाइ हुने गरेको छ ।”

बेलासेलाई जलवायु अनुकूलित नमुना गाउँको रुपमा विकास गर्न थालिएको संयोजक भण्डारीले बताए । उनका अनुसार समुदायको सक्रिय सहभागितामा स्थानीय जलवायु अनुकूलन गाउँ योजना तयार गरिएको छ । योजनाअनुरुप नै दातृ निकाय र स्थानीय काम सम्पन्न गर्न लागि परेका उहाँको भनाइ छ ।

यस्तो योजना अन्य ठाउँका लागि पनि उपयुक्त देखिएको नगरप्रमुख केदार थापाले बताए । नगर परिषद्मार्फत कृषिलाई पहिलो प्राथमिकता दिएर अगाडि बढेको उनको भनाइ छ । उनका अनुसार यहाँका किसानले पछिल्लो समय जलवायुमैत्री खेती प्रणाली अवलम्बन गर्न थालेका छन् । कोदो, धान, मकैलगायत अन्नबालीका साथै तोरी, सागसब्जी, गोलभेँडाजस्ता नगदेबालीमा किसान आकर्षित भएका छन् ।

किसानलाई जलवायु मैत्री भइसकेपछि हुने फाइदा र पुग्ने सिँचाइ सुविधाका बारेमा जानकारी गराइएको छ । परियोजनाअन्तर्गत यहाँका कृषि तथा व्यवसाय सञ्चालनका लागि मिनी पावर टिलर, कुटानीपीसानी मिल वितरण गरिएको छ ।

बेलासेका ग्रामीण बस्तीमा खाना पकाउन प्रयोग हुँदै आएकोे परम्परागत इन्धन दाउरा खपतलाई कम गर्न, वन विनास रोक्न, धुँवा प्रदूषण कम गर्न सुधारिएको चुलो निर्माण गरिएको सामुदायिक विकास केन्द्रका स्थलगत संयोजक शान्तिराम घिमिरेले जानकारी दिए । उनका अनुसार व्यवसाय सञ्चालनका लागि कुखुराको खोर निर्माण गर्न परियोजनामार्फत सहयोग गरिएको छ । रासस

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?