मोहन्यालमा नौ वटा सिँचाइ योजनाको काम सुरु

सिँचाइ

गोदावरी (कैलाली), १२ वैशाख : कैलालीको मोहन्याल गाउँपालिकाका पाँच वडामा नौ वटा सिँचाइ योजनाको काम सुरु भएको छ । कृषकको खेतबारीमा सिँचाइ सुविधा पु¥याउन वडा नं ३, ४, ५, ६ र ७ मा सिँचाइ योजनाको काम सुरु गरिएको हो ।

खाद्यबाली, तरकारी र फलफूल उत्पादन वृद्धि गर्न खेतीयोग्य जमिनमा सिँचाइ योजनाको काम उपभोक्ता समितिमार्फत सञ्चालन भइरहेको जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय धनगढीले जनाएको छ ।

चालु आर्थिक वर्षमा सुदूरपश्चिम प्रदेश सरकार र सङ्घ सशर्त अनुदानबाट विनियोजित रु दुई करोड २० लाखबाट ती योजना सुरु भएको सिँचाइ विकास डिभिजन कार्यालयका प्रमुख इञ्जिनियर अमरबहादुर पालले जानकारी दिनुभयो ।

सिँचाइ कार्यालयका अनुसार पट्रेनी सिँचाइ योजनामा रु २५ लाख, बडापानीमा १५ लाख, आमखोलामा १५ लाख, मौतोलीमा १५ लाख, माथिल्लो बारेगडामा २० लाख, बागेरवामा २० लाख, पटघारीमा २५ लाख, ओखडेको कोटमा २० लाख र अप्रीखोलामा २५ लाख बजेट विनियोजन गरिएको छ ।

त्यसैगरी मोहन्याल गाउँपालिका–३ मा एकीकृत ऊर्जा तथा सिँचाइ विशेष कार्यक्रमअन्तर्गत सङ्घ सशर्त अनुदानमार्फत रागमलेखा लिफ्ट सिँचाइ योजनाका लागि रु ५० लाख बजेट विनियोजन गरिएको कार्यालय प्रमुख पालले बताउनुभयो । सो योजनाको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार भई कार्यान्वयनको चरणमा रहेको छ ।

खाद्यबाली, तरकारी र फलफूलखेतीको सम्भावना बोकेको मोहन्यालका किसानले सिँचाइ अभावका कारण आकाशे पानीका भरमा खेती गर्दै आएका थिए । सिँचाइ योजना सम्पन्न भएपछि सधैँका लागि समस्या समाधान हुने स्थानीय टेकेन्द्र बोगटीले बताउनुभयो । निर्माण सुरु गरिएका योजनामध्ये तीन वटा क्रमागत र बाँकी योजना नयाँ हुन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments