बत्तीस वर्षदेखि डोकोमा तरकारी बेच्दै ‘लक्ष्मी’

वालिङ (स्याङ्जा), ३ जेठ : स्याङ्जाको चापाकोट–९ सेराकी लक्ष्मी खनाल डोकोमा तरकारी बोकेर घरखर्च गर्न थालेको ३२ वर्ष पुग्यो । आफूले उत्पादन गरेका तरकारी गाउँ तथा बजारका घरघरमा पु¥याएर बिक्री गर्ने उहाँको दैनिकी निकै लामो छ ।

मौसम अनुसारका तरकारी उत्पादन गरी आफैँले डोकोमा बोकेर बजार जाने गरेकाले बिक्रीको समस्या नभएको उहाँले बताउनुभयो । “मौसम अनुसार उत्पादन हुने तरकारी दुई÷चार किलोका दरले टिप्छु, सबै मिलाउँदा भारी पुग्छ”, उहाँले भन्नुभयो, “ग्राहकले पनि आफूले चाहेको ताजा तरकारी घरदैलोमै पाउनुहुन्छ ।”

आफूले उत्पादन गरेका तरकारी घरदैलोमै पुगेर बिक्री गर्ने गरे पनि होलसेलमा कसैलाई पनि नदिएको लक्ष्मीले दाबी गर्नुभयो । उमेरले पाँच दशक पुग्नुभएकी लक्ष्मीको परिवारको मुख्य आम्दानीको स्रोत नै तरकारी हो ।

“तरकारी भएका बेला बिहान ६ बजे बिक्रीका लागि निस्कन्छु”, उहाँले भन्नुभयो, “दिउँसो १–२ बजेमात्रै तरकारी बिक्री गरेर घर आउँछु ।” तरकारी बिक्री गरेर घर फर्केपछि बारीमा तरकारी लगाउन व्यस्त हुने गरेको उहाँको भनाइ छ ।

सासुससुरा, बिरामी श्रीमान् र पाँच छोराछोरीको लालनपालन, पढाइ तथा घरखर्च लक्ष्मीले तरकारी बिक्रीबाट भएको आम्दानीले चलाउँदै आउनुभएको छ । छोरीहरुको उच्च शिक्षा, बिहेवारी र छोरालाई इन्जिनियर पढाउने आम्दानी पनि तरकारीखेतीबाटै भइरहेको लक्ष्मीले जानकारी दिनुभयो ।

“घरखर्च, छोराछोरीको बिहेवारी, पढाइ खर्च सबै यसैबाट चलाउँदै आएकी छु”, उहाँले भन्नुभयो, “यसका अलावा बचत भएको रकमबाट साढे दुई तलाको घर, चापाकोटमै नौ रोपनी जग्गा र बुटवलमा नौ धुर जग्गा जोडेकी छु ।”

छोरीहरूको बिहेवारी भइसकेको र छोरा पढ्नका लागि बाहिर भएकाले अहिले आफू एक्लै तरकारीखेती गर्दै आएको उहाँले अनुभव सुनाउनुभयो । परिश्रम गर्न सके आम्दानी गर्न सकिने प्रशस्त बाटा रहेका उहाँको बुझाइ छ ।

“उत्पादन भएका तरकारी आफैँ बिक्री गर्न हिँड्दा कतिले तल्लो छेउ पारेर पनि बोल्छन्”, लक्ष्मीले भन्नुभयो, “आफ्नो काम गरेर खाँदा पनि त्यस्तो व्यवहार गर्छन्, श्रमको सम्मान नहुँदा दुःख लाग्छ तर, यही पेसाले यहाँसम्म ल्यायो, म खुसी छु ।”

गत वर्षमात्रै उहाँले २५ मुरी गुन्द्रुक बिक्री गर्नुभएको थियो । गत वर्ष १० मुरी गुन्द्रुक काठमाडौँमा बिक्री गर्नुभएको थियो भने अरु स्थानीय चापाकोट बजारमै बिक्री गर्नुभएको थियो । लक्ष्मीको खेतबारीमा अहिले करेला, घिरम्ला, टमाटर, काउली बन्दा, सिमी, बोडा, काक्रा, भिण्डी, लौकालगायत तरकारी छन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?