नवलपरासीपूर्वमा आलु उत्पादनमा वृद्धि

आलु उत्पादन

मध्यविन्दु (नवलपरासी), ११ जेठः नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा आलुखेती गरिने क्षेत्र र उत्पादन बर्सेनि बढ्दै गएको छ । कृषि ज्ञान केन्द्रसँगै स्थानीय पालिकाले आलुखेती प्रवर्द्धनअन्तर्गत अनुदान कार्यक्रम सञ्चालन गर्न थालेपछि आलुखेतीतर्फ किसान आकर्षित भएका छन् ।

जिल्लामा यस आर्थिक वर्षमा तीन हजार दुई सय पाँच हेक्टर क्षेत्रफलमा आलुखेती भएको कृषि ज्ञान केन्द्र नवलपुरका सूचना अधिकारी विश्वास काफ्लेले बताउनुभयो । यस वर्ष ५८ हजार चार सय १३ मेट्रिक टन आलु उत्पादन भएको छ ।

“गत आव तीन हजार एक सय ७५ हेक्टरमा आलुखेती भएकामा यस वर्ष ३० हेक्टर जमिनमा थप विस्तार भएको छ”, उहाँले भन्नुभयो, “गत वर्ष जिल्लामा ५७ हजार तीन सय ५४ मेट्रिक टन आलु उत्पादन भएको थियो, गत वर्षभन्दा यस वर्ष उत्पादन एक हजार ५९ मेट्रिक टनले बढेको छ ।”

जिल्लामा व्यावसायिक आलुखेती गर्ने किसानको सङ्ख्या प्रत्येक वर्ष बढेको कृषि ज्ञान केन्द्रको तथ्याङ्कमा देखिएको छ । पछिल्लो चार वर्षको आलुखेती गरिने क्षेत्रफल र उत्पादन हेर्दा प्रत्येक वर्ष वृद्धि हुँदै गएको देखिएको छ । जिल्लामा आव २०७८÷७९ मा तीन हजार एक सय १५ हेक्टर क्षेत्रफलमा आलुखेती गरिँदा ५० हजार एक सय ५२ मेट्रिक टन उत्पादन भएको थियो । आव २०७७÷७८ मा तीन हजार एक सय १० हेक्टर क्षेत्रफलमा ५२ हजार नौ सय ९० मेट्रिक टन उत्पादन भएको थियो ।

“आलु उत्पादनका हिसाबले नवलपरासी (बर्दघाट सुस्तापूर्व) आत्मनिर्भर रहेको छ”, सूचना अधिकारी काफ्लेले भन्नुभयो, “सरकारी तहबाट लगानी वृद्धि हुँदा किसान आलुखेतीतर्फ आकर्षित भएका छन् ।”

जिल्लाको मध्यविन्दु, कावासोती नगरपालिका र हुप्सेकोट गाउँपालिका क्षेत्रमा आलु राम्रो उत्पादन हुने गरेको छ । सो क्षेत्रमा व्यावसायिक रूपमा आलु उत्पादन गर्ने कृषक र कृषि समूहको सङ्ख्या उल्लेख्य रहेको कृषि ज्ञान केन्द्र नवलपुरका प्रमुख कुलप्रसाद तिवारीले बताउनुभयो । किसानले उत्पादन गरेको आलु स्थानीय बजारका साथै बुटवल, नारायणगढ र काठमाडौँलगायतका बजारमा जाने गरेको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?