पशु अस्पताललाई प्रभावकारी बनाउन सरकार प्रतिबद्धता छ : मुख्यमन्त्री अधिकारी

कास्की, १४ जेठ : गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले पशु स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन प्रदेश सरकारले आवश्यक सहयोग गर्ने बताउनुभएको छ ।

पोखरा महानगरपालिका–१२ मा पशुपन्छीको उपचारका लागि निर्मित ‘मोडेल भेटेरिनरी अस्पताल’को आज यहाँ आयोजित उद्घाटन समारोहमा मुख्यमन्त्री अधिकारीले आवश्यक स्रोतसाधन र जनशक्ति थप गर्न प्रदेश सरकारले सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । उहाँले पशुपन्छीको उपचार र कृषकको पशुधन सुरक्षाका लागि नवनिर्मित अस्पताल महत्वपूर्ण हुने बताउनुभयो ।

हाल रहेको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको परिसरमा भवन निर्माण गरिएको हो । कास्कीका साथै आसपासका जिल्लाका किसानलाई पशु उपचार गर्न तथा आवश्यक परामर्शसम्बन्धी सहजरुपमा सेवा दिने उद्देश्यले अस्पताल निर्माण गरिएको केन्द्रका प्रमुख शम्भुराज पाण्डेले बताउनुभयो ।

उहाँका अनुसार भवन प्रदेश सरकारको रु छ करोड ४४ लाख २० हजार सात सय ७२ लगानीमा बनेको हो । सुविधासम्पन्न साढे दुई तलाको अस्पताल निर्माणका लागि सिद्धबाबा÷फुल्जोर जेभी स्याङ्जासँग ठेक्का सम्झौता गरिएको थियो ।

भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रका चिकित्सक डा अनन्त कोइरालाले सुविधासम्पन्न अस्पताल भवनबाट चाँडै अन्तरङ्ग, बहिरङ्गसहितका सेवा प्रदान गरिने जानकारी दिनुभयो । अस्पतालमा प्रयोगशाला, शल्यक्रिया कक्ष, फार्मेसी, रेडियोलोजिकल ल्याबलगायत सुविधा रहने उहाँले बताउनुभयो ।

डा कोइरालाका अनुसार पशुपन्छी, माछा, घरपालुवा जनावरलगायतको उपचारका लागि छुट्टाछुट्टै कक्ष राखिनेछ । “पुरानो भवन साँघुरो थियो । त्यहाँबाट उपचार सेवा दिँदै आएकामा अब नयाँ भवनबाट सेवा दिने तयारी भइरहेको छ”, उहाँले भन्नुभयो, “सुरुआतमा सबै उपकरण र जनशक्ति पूरा भइसकेको छैन । आगामी दिनमा अस्पताललाई प्रदेशको पशुपन्छी उपचार प्रमुख केन्द्रकारुपमा विकास गर्नेछौँ ।”

समारोहमा प्रदेशका उर्जा जलस्रोत तथा खानेपानीमन्त्री बेदबहादुर गुरुङ, प्रदेश सरकारका प्रमुख सचिव लक्ष्मीकुमारी बस्नेत, कृषि तथा भूमि व्यवस्था मन्त्रालयका सचिव डा टङ्कप्रसाद प्रसाईं, पशुपन्छी तथा मत्स्यविकास निर्देशनालयका निर्देशक डा प्रेरणा सेढाईंलगायतले अस्पतालबाट विशिष्टिकृत पशु स्वास्थ्य उपचार सेवा प्रवाह गर्नुपर्ने बताउनुभएको थियो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?