व्यावसायिक अदुवाखेतीप्रति किसान आकर्षित

धरान (सुनसरी) १५ जेठः शिक्षण छाडेर व्यावसायिक रूपमा अदुवाखेतीमा लाग्नुभएका धरान उपमहानगरपालिका–२० विष्णुपादुकाका तिलक राईले यस वर्ष अदुवाखेतीबाट पशस्त आम्दानी भएको बताउनुभयो । गत वर्षको तुलनामा यस वर्ष उहाँले अधिक आम्दानी गर्नुभएको हो । चालिस वर्षदेखि उहाँ अदुवाखेती गर्दै आउनुभएको छ ।

पूर्वशिक्षक राईले वर्षमा सातदेखि १० क्विन्टलसम्म अदुवा उत्पादन गर्दै आएको बताउनुभयो । अहिले खुद्रा प्रतिकेजी रु एक सय ५० देखि दुई सय ८० सम्ममा बिक्री हुने गरेकाले राम्रो आम्दानी हुने गरेको उहाँ बताउनुहुन्छ । उहाँले भन्नुभयो, “अदुवाखेती गर्नका लागि अलि भिरालो ठाउँ फोस्रो माटो आवश्यक पर्छ, ठाउँअनुसार राम्रो उत्पादन भइरहेको छ ।”

हाल विष्णुपादुकामा अदुवाखेती गर्ने दुई सय बढी किसान रहेका राईले बताउनुभयो । उहाँ सो स्थानका सफल व्यवसायी हुनुहुन्छ । उहाँले विष्णुपादुकामा रहेर अदुवाखेतीबाहेक अम्लिसो, बेसार, अकबरे खुर्सानीलगायत कृषि उपज उत्पादन तालिम दिँदै आउनुभएको छ ।

व्यावसायिक रूपमा अदुवाखेती गर्दै आउनुभएका धरान उपमहानगरपालिका–२० का अर्का किसान पदम राई मौसमले साथ दिँदा अदुवाखेतीबाट मनग्य आम्दानी हुने गरेको बताउनुभयो । उहाँले वार्षिक १० क्विन्टलभन्दा बढी अदुवा उत्पादन गर्दै आउनुभएको बताउनुभयो । उहाँले विष्णुपादुका क्षेत्रमा मात्र नभएर मोरङको लेटाङमा समेत जग्गा लिजमा लिएर अदुवाखेती गर्नुभएको छ । वार्षिक रु तीन लाखसम्मको अदुवा बेचेको उहाँले सुनाउनुभयो ।

विगतको तुलनामा यस वर्ष अदुवाको मूल्य बढेको धरान कृषिउपज बजार व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मण भट्टराईले बताउनुभयो । उहाँले कोशी करिडोरका पहाडी जिल्लाका किसानले अत्यधिक मात्रामा अदुवा ल्याउने गरेका तथा सगरमाथा करिडोर सिन्धुलीबाट पनि अदुवा बोकेर किसान आउने गरेका बताउनुभयो । विशेषगरी धेरै अदुवा जेठदेखि भदौसम्म बिक्री हुने गरेको जानकारी उहाँले दिनुभयो ।

दैनिक रुपमा एक सयदेखि दुई सय मेट्रिक टन अदुवा धरान कृषि बजारबाट बिक्री हुने गरेको उहाँले बताउनुभयो । विसं २०८० असार मसान्त देखि २०८१ जेठ १० गतेसम्ममा धरान उपमहानगरपालिका १३ कृषिबजारबाट जम्मा सात हजार आठ सय सन्तावन्न मेट्रिकटन अदुवा बिक्रीबाट रु एक अर्ब ३७ करोड ४९ लाख ७५ हजार आम्दानी भएको अध्यक्ष लक्ष्मण भट्टराईले बताउनुभयो ।

अदुवा निकासीमा सरकारको सहयोग अपरिहार्य भएको उहाँ बताउनुहुन्छ । बेलाबेलामा धनकुटा, तेह्रथुम, सङ्खुवासभा, भोजपुर, खोटाङ, उदयपुर, सिन्धुली, पाँचथर, ताप्लेजुङलगायत ठाउँबाट किसानले अदुवा ल्याउने गरेका छन् । भारत मात्र नभएर तेस्रो देश निर्यातको गृहकार्य गर्नुपर्ने अध्यक्ष भट्टराई बताउनुहुन्छ । अदुवाको बजार उत्साहजनक भएकाले अधिकभन्दा अधिक उत्पादन गर्नेतर्फ ध्यान दिन जरुरी भएको उहाँ बताउनुहुन्छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?