वर्षासँगै आएको हुरीले मकै बालीमा ठूलो क्षति

खोटाङ, २३ जेठ : वर्षासँगै आएको हुरीले मकै बालीमा ठूलो क्षति पुर्‍याएको छ । मङ्गलबार दिउँसो वर्षासँगै आएको हुरीले जिल्लाका विभिन्न ठाउँका किसानले लगाएको मकै बालीमा क्षति पुर्‍याएको हो ।

पसाउन (धानचामल निस्कने प्रक्रिया) लागेको मकैको बोट हुरीले ढाल्दा लाखौँको क्षति भएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीका हर्कराज राईले बताउनुभयो । “यस क्षेत्रको प्रमुख बाली मकै हो । पसाउन थालेको मकैको बोट मङ्गलबार आएको हुरीले सोत्तर पारेको छ”, उहाँले भन्नुभयो, “उत्पादन दिने बेला बोट नै ढलेर क्षति भएपछि कृषक चिन्तित बनेका छन् ।”

मङ्गलबार दिउँसो आएको हुरीले जिल्लाका विभिन्न ठाउँका किसानले लगाएको मकै बालीमा क्षति पु¥याएको भन्दै क्षतिको विवरण आउन बाँकी रहेको कृषि ज्ञान केन्द्र खोटाङका निमित्त प्रमुख हरिनारायण राईले जानकारी दिनुभयो । उहाँका अनुसार दश स्थानीय तह रहेको जिल्लामा ३९ हजार आठ सय ४५ हेक्टर क्षेत्रफल जमिनमा मकैखेती गर्ने गरिएको छ ।

हुरीले साकेला गाउँपालिका–२ रतन्छास्थित टाँकीबारी आधारभूत विद्यालयमा क्षति गरेको प्रहरीले जनाएको छ । ढुङ्गामाटोले बनेको तीन कोठाको एकतले जस्तापाताले छाएको छाना उडाउँदा करिब रु तीन लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक पुरुषोत्तम खड्काले जानकारी दिनुभयो ।

खाजा खाने समयमा घटना भएकाले मानवीय क्षति हुनबाट जोगिएको विद्यालयका प्रधानाध्यापक केशव बस्नेतले बताउनुभयो । उहाँका अनुसार हुरीले विद्यालयको छाना उडाएपछि पठनपाठन प्रभावित बनेको छ ।

कक्षा–५ सम्म पठनपाठन हुँदै आएको उक्त विद्यालयमा हुरीले क्षति पुर्‍याएपछि कक्षा पुनः सञ्चालन गर्ने विषयमा छलफल गर्न आज विद्यालय व्यवस्थापन समितिको बैठक आह्वान गरिएको छ । सोही वडाको पीपलडाँडा आधारभूत विद्यालयमा पनि हुरीले क्षति गरेको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?