पानी परेपछि किसान उत्साहित

महोत्तरी, २५ जेठ : पानी नपर्दा बाली लगाउन नपाएर निराश भएका यहाँका किसान पानी पर्न थालेपछि खुसी भएका छन् । जेठ चौँथो साता सुरु भएसँगै खेतबारीमा प्रशस्त चिस्यान हुनेगरी पानी परेपछि बाली लगाउन पाउने आशमा यहाँका किसान खुसी भएका हुन् ।

गत सोमबारयतादेखि दैनिकजसो परिरहेको पानीले खेतबारीमा प्रशस्त चिस्यान भएपछि बर्खे मकै छर्ने, कोदो र धानको ब्याड राख्ने तयारीमा यहाँका किसान व्यस्त देखिन्छन् । वैशाख मसान्तभित्रै बर्खे मकै, र कोदो र धानको ब्याड राख्नुपर्नेमा सिँचाइ सुविधा नहुँदा आकाशे पानीको भरमा बस्नुपर्ने बाध्यता थियो ।

लगातारको चर्को घामले जमिन सुक्खा भएर फुट्न थालेकामा पछिल्लो वर्षाले ढिलै भए पनि बर्खेबाली लगाउन र धानको धुले ब्याड राख्न चिस्यान भएको बर्दिबास–६ का किसान विन्देश्वर यादवले बताउनुभयो ।

“बर्खे मकै छर्न र कोदोको ब्याड राख्न ढिलो भइसकेको छ । सिँचाइ अभाव हुँदा आकाशे पानीको भरमा बस्नुपर्ने बाध्यता छ”, उहाँले भन्नुभयो, “अहिले मौसमले साथ दिँदा मकै, कोदो केही ढिलो भए पनि लगाउन पाउने भएका छौँ ।” बर्खे धानलाई अब ब्याड राख्दा ढिलो हुने भन्दै यस वर्ष हिउँदे धानको ब्याड राख्न लागिएको उहाँको भनाइ छ ।

“चिस्यान नहुँदा धानको ब्याड राख्न सकिएको थिएन, पछिल्लो वर्षाले धुले ब्याड राख्न चिस्यान बनाएको छ । अब खेतीपातीका काम गर्न अनुकुलता होला भन्ने आश जाग्यो”, बलराम कार्कीले भन्नुभयो, “समय घर्की सकेकाले यसपालि धानको खरुअत रोप (कलम रोप, पहिलेको बीउ रोप गाँजिएपछि त्यही उखालेर रोप्ने) भने नभ्याइने भइयो ।”

खरुअन साउने सङ्क्रान्तिमा रोपाइँ हुने भन्दै अहिलेको ब्याडबाट नभ्याइने किसान बताउँछन् । पछिल्लो वर्षाले यसअघिको घामले ओइल्याउँदै, सुक्दै गएका लहरे तरकारीलाई नयाँ पालुवा पलाउन मद्दत गरेको किसानको भनाइ छ ।

पर्याप्त चिस्यान भएपछि तरकारीका बोट हरियाली देखिन थालेका भङ्गाहा–४ का किसान शिवलाल ठाकुरले बताउनुभयो । वर्षाले वातावरण शीतल बनाएपछि काममा निस्कन अनुकुल बनेको उहाँको भनाइ छ ।

जिल्लामा ७० हजार हेक्टर खेतीयोग्य जग्गामध्ये १० प्रतिशतमा मात्र कुलो, नहरसँगै सिँचाइको सुविधा पुगेको जिल्लास्थित कृषि ज्ञान केन्द्रले जनाएको छ । जिल्लाका अधिकांश जग्गा आकाशे पानीको भरमा खेती गर्नुपर्ने बाध्यता छ । पछिल्ला केही वर्षयता स्यालो ट्युवेल, इनारबाट वैकल्पिक सिँचाइ गर्न सकिने भएकाले खेतीपाती गर्न सहज भएको रामदयाल बाँतरले बताउनुभयो ।

वातावरण शीतल बन्दै गएपछि काममा जान सजिलो हुँदै गएको दैनिक ज्यालादारी/श्रम गरेर जीविकोपार्जन गरिरहेका श्रमिक बताउँछन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?