किसानलाई अनुदानमा कफीका नौ हजार विरुवा

त्रिशूली (नुवाकोट), २३ असारः बेलकोटगढी नगरपालिकाले किसानको मागको आधारमा नौ हजार कफीको विरुवा उपलब्ध गराएको छ । कूल ५० प्रतिशत अनुदानमा कफीका विरुवा वितरण गरिएको नगरपालिकाका आर्थिक विकास शाखा प्रमुख डा अञ्जु शर्मा चापागाईले जानकारी दिनुभयो ।

उहाँको अनुसार कफी उत्पादनका लागि अनुकुलित हावापानी र भूगोल भएका स्थानका किसानलाई लक्षित गरेर कफीको विरुवा अनुदानमा उपलब्ध गराइएको हो । किसानलाई प्रतिविरुवा रु १५ मात्रै पर्ने गरी कफीको विरुवा उपलब्ध गराइएको हो । शाखा प्रमुख चापागाईले भन्नुभयो, “विरुवा माग गरेका किसान र कृषि फर्मसम्म नै नगरपालिकाबाट निःशुल्क ढुवानी गरिएको छ ।”

हावापानी अनुकुल अनुसार अरबिकाको बोरबन जातको कफीको विरुवा उपलब्ध गराइएको आर्थिक विकास शाखाका कृषि प्राविधिक सुन्दर श्रेष्ठले जानकारी दिनुभयो । उक्त विरुवाले तीन वर्षपछि फल दिन सुरु गर्ने अपेक्षा गरिएको छ ।

नगरपालिकाले कफीको विरुवाका लागि सुहाउँदो हावापानीका आधारमा किसानसँग माग गरेको निवेदन अनुसार विशेष गरेर नगरको वडा नंं १, २, ११ र १३ का किसान र कृषि फर्मबाट बढी माग भएकाले सोही स्थानमा धेरै विरुवा उपलब्ध गराइएको जनाएको छ । ती स्थानमा यसअघि देखि नै किसानले व्यावसायिक रुपमा कफी खेती गर्दै आएका थिए ।

किसानहरुले कफीको व्यावसायिक खेती सुरु गरेसगैँ उनीहरुलाई सहयोग गर्न नगरपालिकाले नीति तथा कार्यक्रममा नै समावेश गरेर किसानलाई कफीको विरुवा अनुदानमा उपलब्ध गराइएको नगरप्रमुख जगतबहादुर गुरुङले बताउनुभयो ।

नगरपालिकाबाट किसानलाई अन्य प्राविधिक सहयोगहरु पनि निरन्तर रहने भएकाले व्यावसायिक रुपमा कफी खेती फस्टाउने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?