गर्मीले घट्यो उत्पादन, तीन महिनामै अन्डाको मूल्य प्रतिक्रेट १४५ रुपैयाँले बढ्यो
काठमाडौँ : पछिल्लो तीन महिनाको अवधिमा अन्डाको मूल्यमा भारी वृद्धि भएको छ। नेपाल लेयर्स कुखुरापालक सङ्घका अनुसार, गर्मी बढेसँगै कुखुराको उत्पादन क्षमतामा ह्रास आएपछि बजारमा अन्डाको मूल्य आकाशिएको हो।
गत वैशाखदेखि हालसम्मको अवधिमा अन्डाको मूल्य प्रतिक्रेट १४५ रुपैयाँसम्म बढेको छ। सङ्घका अनुसार अत्यधिक गर्मीका कारण अन्डाको उत्पादनमा २५ प्रतिशतसम्मले कमी आएको छ, जसले गर्दा बजारमा माग अनुसार आपूर्ति गर्न नसक्दा मूल्य बढ्न पुगेको हो।
सङ्घले उपलब्ध गराएको तथ्याङ्क अनुसार गत वैशाखदेखि असार १९ गतेसम्मको अवधिमा विभिन्न साइजका अन्डाको मूल्यमा उल्लेख्य वृद्धि देखिएको छ। वैशाखमा प्रतिक्रेट ३२० रुपैयाँ रहेको मध्यम साइजको अन्डाको थोक मूल्य हाल ४६५ रुपैयाँ पुगेको छ। त्यसैगरी, ४५० रुपैयाँ पर्ने ठूलो अन्डाको मूल्य बढेर ४९५ रुपैयाँ र ४७० रुपैयाँको एक्सेल (सबैभन्दा ठूलो) अन्डाको मूल्य ५१० रुपैयाँ पुगेको छ।
उत्पादनमा आएको यो गिरावटले बजारको माग धान्न कठिन भएको र त्यसको प्रत्यक्ष असर मूल्यमा परेको व्यवसायीहरू बताउँछन्। अन्डाको मूल्यमा भएको यो वृद्धिले आम उपभोक्ताको भान्सा महँगिएको छ। प्रोटिनको मुख्य र सस्तो स्रोतको रुपमा रहेको अन्डाको भाउ बढ्दा सर्वसाधारण मारमा परेका छन्। मौसममा सुधार नआएसम्म उत्पादन सहज नहुने र मूल्य तत्काल घट्ने सम्भावना कम रहेको सङ्घले जनाएको छ।
