देशभर मनसुन सक्रिय, चार प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

काठमाडौं, श्रावण ०२ :

जल तथा मौसम विज्ञान विभागका अनुसार आज देशभर मनसुनी वायुको प्रभाव रहेको छ, जसका कारण अधिकांश स्थानमा वर्षाको सम्भावना छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानमा रहेकाले देशभरको मौसम बदली भई ठाउँ-ठाउँमा वर्षा भइरहेको छ।

विभागको मौसम पूर्वानुमान महाशाखाले जारी गरेको बुलेटिनअनुसार आज दिउँसो कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। यी चार प्रदेशका एक-दुई स्थानमा भारी वर्षासमेत हुन सक्ने अनुमान गरिएको छ। यसैगरी, बाँकी प्रदेशका पहाडी भू-भागका केही र अन्य भू-भागका थोरै स्थानमा पनि हल्का वर्षाको सम्भावना रहेको छ।

महाशाखाले लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रका केही स्थानमा हावाहुरीको समेत सम्भावना रहेको भन्दै सचेत गराएको छ। देशका उच्च-पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का वर्षा वा हिमपात हुन सक्नेछ।

आज राती पनि देशभरको मौसम आंशिकदेखि साधारणतया बदली रहनेछ। राती कोशी प्रदेशका केही स्थानमा तथा मधेश प्रदेश र देशका अन्य पहाडी भू-भागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ।

भारी वर्षाको सम्भावना रहेका क्षेत्रमा बाढी, पहिरो तथा भू-क्षयको जोखिम हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले सबैमा अनुरोध गरेको छ। साथै, मेघगर्जन, चट्याङ र हावाहुरीबाट हुन सक्ने सम्भावित क्षतिबाट बच्न र सडक तथा हवाई यातायातमा पर्न सक्ने प्रभावप्रति सचेत रहन पनि आग्रह गरिएको छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?