जनै पूर्णिमा विशेष: क्वाँटीको स्वाद, स्वास्थ्य र सांस्कृतिक महत्व
काठमाडौं ।
के हो क्वाँटी ?
क्वाँटी एक प्रकारको पौष्टिक झोलिलो परिकार हो, जसको सुरुवात विशेषगरी नेवार समुदायबाट भएको मानिन्छ। नेवारी भाषामा ‘क्वाँ’ को अर्थ तातो र ‘टी’ को अर्थ झोल हुन्छ। मास, भटमास, सिमी, चना, केराउ, मुगी लगायत कम्तीमा नौ थरीका गेडागुडीलाई भिजाएर टुसा उमारेपछि पकाइने तातो र पोषिलो झोल नै क्वाँटी हो।
सांस्कृतिक र वैज्ञानिक महत्व
नेपाल कृषिप्रधान देश भएकाले वर्षायाममा खेतीपातीको कडा परिश्रमले थकित शरीरलाई अतिरिक्त ऊर्जा र पोषण दिन क्वाँटी खाने चलन बसेको विश्वास गरिन्छ। खेतीको काम सकिएपछिको थकान र चिसो मौसमबाट बच्न शरीरलाई चाहिने प्रोटिन, भिटामिन र मिनरल्सको परिपूर्ति गर्न टुसा उमारिएको गेडागुडीको झोल अत्यन्तै लाभदायक हुन्छ। यसले शरीरमा ताप प्रदान गर्ने, मांसपेशीलाई बलियो बनाउने र रोगसँग लड्ने क्षमता बढाउने काम गर्छ।
स्वास्थ्यका लागि अमृत समान
पोषणविद्का अनुसार, क्वाँटी विभिन्न पोषक तत्वले भरिपूर्ण ‘कम्प्लिट प्रोटिन’को स्रोत हो। यसका मुख्य फाइदाहरू निम्न छन्:
-
तत्काल ऊर्जा: यसले शरीरमा तत्काल ऊर्जा प्रदान गर्दछ।
-
रोग प्रतिरोधात्मक क्षमता: टुसा उमारिएको गेडागुडीमा पाइने एन्टिअक्सिडेन्टले शरीरको रोग प्रतिरोधात्मक क्षमता (इम्युनिटी) बढाउँछ।
-
पाचन प्रणालीमा सुधार: यसमा प्रशस्त मात्रामा फाइबर हुने भएकाले पाचन प्रणालीलाई स्वस्थ राख्न मद्दत गरी कब्जियत जस्ता समस्या हटाउँछ।
-
अन्य फाइदा: मधुमेह, पायल्स र रक्तसञ्चारका बिरामीका लागि पनि क्वाँटी फाइदाजनक मानिन्छ।
सेवनमा सावधानी: कसले ध्यान दिने ?
क्वाँटी जति पौष्टिक र स्वादिलो छ, यसको सेवन उत्तिकै नियन्त्रित मात्रामा गर्नुपर्छ। पोषणविद्हरूका अनुसार, शरीरमा प्रोटिनको मात्रा बढी हुँदा युरिक एसिड बढ्ने र मिर्गौलामा असर पर्न सक्ने जोखिम हुन्छ। त्यसैले, विशेषगरी युरिक एसिड र मिर्गौलाका बिरामीले क्वाँटी खाँदा सावधानी अपनाउनु जरुरी छ।
क्वाँटी बनाउने सरल विधि
१. तयारी: कम्तीमा नौ थरीका गेडागुडी (मिक्स क्वाँटी) लाई सफा पानीमा पखालेर एक-दुई दिनअघि नै भिजाउनुहोस्। पानी फालेर यसलाई सफा कपडामा बाँधेर राख्दा टुसा उम्रन्छ।
२. भुटन: प्रेसर कुकरमा तेल वा घिउ तताएर ज्वानो, तोरी र सुप फुराउनुहोस्। त्यसपछि काटेको प्याज, अदुवा, लसुन र खुर्सानी हालेर हल्का खैरो हुन्जेल भुट्नुहोस्।
३. पकाउने: अब टुसा उम्रेको गेडागुडी, बेसार, जिरा-धनियाको धुलो, करी मसला, गोलभेडा र स्वादअनुसार नुन हालेर केहीबेर भुट्नुहोस्। त्यसपछि आवश्यकताअनुसार पानी राखेर प्रेसर कुकरको बिर्को बन्द गरी ६-७ सिठ्ठी लगाउनुहोस्।
४. अन्तिम रूप: पाकेको क्वाँटीमा काटेको हरियो धनियाँ हाल्नुहोस्। स्वाद बढाउन गरम मसला थप्न वा तेलमा जिरा र ज्वानो डढाएर झान्न पनि सकिन्छ। अब तात्तातो क्वाँटी खानका लागि तयार भयो।
पछिल्ला दिनहरूमा क्वाँटीको लोकप्रियता नेवार समुदायमा मात्र सीमित नरही सबै समुदायमा फैलिएको छ, जसले यस परिकारको सांस्कृतिक र स्वास्थ्य महत्वलाई थप फराकिलो बनाएको छ।
