आज देशका केही स्थानमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह
काठमाडौं, भाद्र ०३: आज मंगलबार देशका विभिन्न स्थानहरूमा मौसम साधारणतया बदली रही केही स्थानमा मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार मनसुन केही कमजोर अवस्थामा रहे पनि बंगालको खाडीबाट भित्रिएको जलवाष्पयुक्त हावाको प्रभावले वर्षा जारी रहने देखिएको हो।
विभागले जारी गरेको बुलेटिनअनुसार मनसुनको न्यून चापीय रेखा आफ्नो सरदर स्थानभन्दा दक्षिणतर्फ सरेका कारण नेपालमा मनसुनी गतिविधि केही कमजोर भएको छ। तर, जलवाष्पयुक्त हावाको आगमनले वर्षाको सम्भावना भने कायमै रहेको छ।
आज दिउँसो देशभर मौसम सामान्यतया बदली रहनेछ। कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई क्षेत्रका केही स्थानहरूमा मध्यम वर्षाको सम्भावना छ। यसैगरी, मधेश प्रदेशको तराईका एक-दुई स्थानमा पनि वर्षा हुनेछ। विभागले विशेष गरी कोशी र बागमती प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षा हुन सक्ने पूर्वानुमान गर्दै सतर्कता अपनाउन आग्रह गरेको छ।
आज राती कोशी र गण्डकी प्रदेश लगायत अन्य प्रदेशका पहाडी भू-भागमा मौसम सामान्यतया बदली रहनेछ भने बाँकी भू-भागमा आंशिक बदली रहनेछ। राती कोशी प्रदेशको पहाडी तथा तराई भू-भागका थोरै स्थानहरूमा र अन्य प्रदेशका पहाडी भू-भागका केही स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेशको पहाडी र तराई दुवै क्षेत्रका एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको विभागले जनाएको छ।
भारी वर्षाको सम्भावना रहेकाले विभागले सम्बन्धित क्षेत्रका बासिन्दाहरूलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ। भारी वर्षाका कारण पहाडी भू-भागमा पहिरो तथा गेग्रान बहावको जोखिम, नदीनाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने र दैनिक जनजीवन तथा यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकाले सचेत रहन अनुरोध गरिएको छ।
