कहाँ वर्षा, कहाँ हावाहुरी ? यस्तो छ आगामी तीन दिनको मौसम पूर्वानुमान

भारी वर्षा

काठमाडौँ । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको आंशिक प्रभाव देखिएका कारण देशका विभिन्न भागमा मौसममा फेरबदल भइरहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल कोशी प्रदेशमा साधारणतया बादल लागेको छ भने मधेश प्रदेश र बाँकी पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदली रहेको छ । अहिले कोशी र मधेश प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

महाशाखाका अनुसार आज २०८२ चैत्र २६ गते बिहीबार दिउँसो कोशी प्रदेश लगायत देशका पहाडी र हिमाली भू-भागमा साधारणतया बादल लाग्ने सम्भावना छ । कोशी प्रदेशका केही स्थानहरू, बाँकी पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानहरू र मधेश प्रदेशका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्गसहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ । रातीको समयमा कोशी र बाँकी हिमाली क्षेत्रमा बादल लागे पनि तराईका भू-भागमा भने मौसम मुख्यतया सफा रहने देखिन्छ ।

त्यसैगरी, चैत्र २७ गते शुक्रबार कोशी प्रदेशका पहाडी र हिमाली क्षेत्रमा साधारणतया बदली रहनेछ भने बाँकी पहाडी भागमा आंशिक बदली हुनेछ । कोशीका पहाडी तथा हिमाली भागका एक-दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ । विशेषगरी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका थोरै स्थानहरूमा हावाहुरी चल्ने सम्भावना रहेकाले सतर्कता अपनाउन मौसमविद्ले सुझाव दिएका छन् । शुक्रबार राती कोशी, बागमती, गण्डकी र कर्णालीका हिमाली भू-भागमा आंशिक बदली रहने र केही स्थानमा हल्का हिमपात हुनसक्ने पूर्वानुमान गरिएको छ ।

चैत्र २८ गते शनिबार पनि कोशी लगायत देशका हिमाली क्षेत्रमा बादल लाग्ने र तराईमा मौसम सफा रहनेछ । शनिबार दिउँसो कर्णाली र सुदूरपश्चिमका हिमाली भू-भागका थोरै स्थानहरू र कोशी, गण्डकी र सुदूरपश्चिमका पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ । सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा शनिबार पनि हावाहुरीको सम्भावना कायमै रहने महाशाखाले जनाएको छ ।

वर्षा, हिमपात र तराईमा चल्ने हावाहुरीका कारण हुनसक्ने असुविधाबाट जोगिन महाशाखाले सर्वसाधारणलाई आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?