तराईमा गर्मी बढ्ने, पहाडी र हिमाली भू-भागमा वर्षा र हिमपातको सम्भावना
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। यसको प्रभावले देशका विभिन्न भू-भागमा बदली, वर्षा र हिमपातको सम्भावना देखिएको छ भने तराईका क्षेत्रहरूमा गर्मी बढ्ने देखिएको छ।
महाशाखाका अनुसार हाल कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा साधारणतया बदली रहेको छ। मधेश, कोशी र लुम्बिनी प्रदेशको तराई क्षेत्रमा आंशिक बदली रहे पनि बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ।
आज आइतबारको मौसम
आज आइतबार दिउँसो कोशी प्रदेश लगायत अन्य पहाडी र हिमाली भू-भागमा साधारणतया बदली रहनेछ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा र कर्णाली तथा सुदूरपश्चिम प्रदेशको हिमाली क्षेत्रका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा वा हिमपातको सम्भावना रहेको छ। तराईका मधेश, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही भू-भागमा भने आज तातो दिन हुने सम्भावना छ। रातीको समयमा कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली क्षेत्रमा हल्का वर्षा वा हिमपातको सम्भावना रहेको छ।
वैशाख ७ गते सोमबारको पूर्वानुमान
सोमबार पनि पहाडी र हिमाली क्षेत्रमा बादल लाग्ने क्रम जारी रहनेछ। कोशी र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू-भाग लगायत देशका अन्य हिमाली क्षेत्रका थोरै स्थानमा हल्का वर्षा र हिमपात हुन सक्ने महाशाखाले जनाएको छ। त्यस्तै, बागमती र लुम्बिनी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा पनि मेघगर्जनसहित हल्का वर्षाको सम्भावना छ। तराईका जिल्लाहरूमा भने सोमबार पनि गर्मीको प्रभाव रहनेछ। रातीको समयमा कोशी, गण्डकी र कर्णाली प्रदेशका हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना रहेको छ।
वैशाख ८ गते मंगलबारको मौसम
मंगलबार देशको हिमाली भू-भागमा साधारणतया बदली रहनेछ भने पहाडी क्षेत्रमा आंशिक बदली हुनेछ। कोशी प्रदेशका पहाडी तथा हिमाली भू-भाग र देशका अन्य हिमाली क्षेत्रका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा वा हिमपातको सम्भावना छ। तराईका अधिकांश भू-भागमा मौसम सफा रहने भए पनि मधेश, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा तातो दिन रहने महाशाखाको पूर्वानुमान छ।
आगामी तीन दिन पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना रहे पनि तराईमा बढ्दो गर्मीले जनजीवन प्रभावित हुन सक्ने देखिएकाले आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले सबैमा अनुरोध गरेको छ।
