आगामी तीन दिन देशभर वर्षा र हिमपातको सम्भावना: कोशी र गण्डकीमा भारी वर्षाको जोखिम
काठमाडौँ । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायुका साथै पूर्वी भू-भाग नजिक रहेको न्यून चापीय प्रणालीको मिश्रित प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार यसकै प्रभावका कारण हाल देशभरको मौसममा बदली भई केही स्थानमा वर्षा सुरु भइसकेको छ। अहिले गण्डकी, बागमती र कर्णाली प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा भइरहेको छ।
आज १५ गते मङ्गलबार दिउँसो देशको पहाडी तथा हिमाली भू-भागमा साधारणतया बदली रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा अन्य प्रदेशका पहाडी भू-भागमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षा र उच्च पहाडी तथा हिमाली भेगमा हिमपातको सम्भावना रहेको छ।
आज राती कोशी प्रदेशका धेरै स्थान र मधेश, बागमती तथा गण्डकीका केही स्थानमा वर्षा हुने देखिन्छ। विशेषगरी कोशी र गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षा र हिमपातको समेत सम्भावना रहेकाले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।
भोलि १६ गते बुधबार भने देशभर मौसम थप सक्रिय हुने देखिन्छ। बुधबार दिउँसो र राती कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा मेघगर्जनसहित मध्यम वर्षाको सम्भावना छ।
कोशी र गण्डकी प्रदेशका केही पहाडी भू-भागमा भारी वर्षाको प्रक्षेपण गरिएको छ। साथै, भोलि देशका तराई भू-भागका केही स्थानहरूमा हावाहुरी चल्ने सम्भावना रहेकाले जनजीवन प्रभावित हुन सक्ने देखिन्छ।
यसैगरी, पर्सि १७ गते बिहीबारबाट मौसममा क्रमिक सुधार आउने देखिए तापनि देशभर पूर्ण रूपमा मौसम सफा हुने छैन। बिहीबार दिउँसो पहाडी र हिमाली भेगका केही स्थान र तराईका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना कायमै रहनेछ।
राती भने पहाडी र हिमाली भू-भागमा आंशिक बदली भई कोशी प्रदेश लगायत अन्य पहाडी क्षेत्रका केही स्थानमा हल्कादेखि मध्यम वर्षा र हिमपात हुन सक्ने महाशाखाको बुलेटिनमा उल्लेख छ।
वर्षा, हिमपात र हावाहुरीको सम्भावना रहेका क्षेत्रमा हुन सक्ने जोखिमबाट बच्न र आवश्यक पूर्वतयारी अपनाउन विभागले सर्वसाधारण र सरोकारवाला निकायलाई आग्रह गरेको छ।
