आगामी तीन दिन कोशी, बागमती र गण्डकीमा वर्षाको सम्भावना, पश्चिम तराईमा गर्मी बढ्ने
काठमाडौँ, ६ जेठ ।हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायुका साथै पूर्वी भू-भाग नजिक रहेको न्यून चापीय क्षेत्रको समेत प्रभाव देखिएको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार यी प्रणालीहरूको सक्रियताका कारण देशका विभिन्न भागमा मौसममा बदली र वर्षाको अवस्था सिर्जना भएको छ। हाल कोशी, मधेश, बागमती र गण्डकी प्रदेश लगायत अन्य पहाडी भू-भागमा साधारणतया बदली रही कोशी, बागमती र गण्डकीका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
महाशाखाले जारी गरेको बुलेटिन अनुसार आज बुधबार दिउँसो कोशी, मधेश, बागमती र गण्डकी प्रदेश लगायत लुम्बिनी र कर्णालीको पहाडी भू-भागमा साधारणतया बदली रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूका साथै मधेश, लुम्बिनी र कर्णालीका पहाडी क्षेत्रका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ। यद्यपि, सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भू-भागमा भने मौसम मुख्यतया सफा रहने र ती क्षेत्रमा तातो हावा चल्ने अर्थात् ‘तातो दिन’ हुने सम्भावना छ। रातिको समयमा पनि कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना कायमै रहनेछ।
यसैगरी, भोलि जेठ ७ गते बिहीबार पनि कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू-भागमा बदलीको अवस्था रहनेछ। ती प्रदेशका थोरै स्थानहरू तथा मधेश र लुम्बिनीका पहाडी भागका एक-दुई स्थानमा वर्षा र हिमपातको पूर्वानुमान गरिएको छ। बिहीबार पनि सुदूरपश्चिम र लुम्बिनीका तराई क्षेत्रमा गर्मीको लहर यथावत रहने देखिन्छ। रातिको समयमा भने कोशी, बागमती र गण्डकीका थोरै स्थानमा र मधेश प्रदेशका एक-दुई स्थानमा मेघगर्जनसहित हल्का वर्षा हुने महाशाखाले जनाएको छ।
आगामी शुक्रबार अर्थात् जेठ ८ गते पनि देशको पूर्वी र मध्य भागमा मौसमको प्रभाव उस्तै रहने देखिन्छ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरू तथा तराईका एक-दुई स्थानमा वर्षाको सम्भावना छ। शुक्रबार राति भने कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ। सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा भने आगामी तीन दिनसम्मै गर्मीको चाप बढ्ने देखिएकाले आवश्यक सतर्कता अपनाउन मौसमविद्हरूले आग्रह गरेका छन्।
