बाख्रापालक कृषकलाई अनुदान सहयोग
भोजपुर, १४ असोजः हतुवागढी गाउँपालिकाले स्थानीय कृषकलाई व्यावसायिक बाख्रापालनमार्फत आयआर्जन र स्वरोजगारमा जोड्न अनुदान सहयोग कार्यक्रम सञ्चालन गरेको छ ।
ग्रामीण भेगका बासिन्दाको जीवनस्तर उकास्ने र कृषि तथा पशुपालन क्षेत्रलाई आत्मनिर्भर बनाउने उद्देश्यका साथ गाउँपालिकाले अनुदान सहायता उपलब्ध गराएको हो ।
गाउँपालिकाले गत आर्थिक वर्षमा विनियोजन गरेको रु दुई लाख २० हजार बजेटबाट स्थानीय पाँच वटा कृषि फार्मलाई प्रत्यक्ष अनुदान सहयोग पु¥याएको छ ।
गाउँपालिकाको पशु सेवा शाखा प्रमुख राजेन्द्रसिंह महराका अनुसार अनुदान पाउने फार्ममा मधुटार कृषि फार्म, धारपानी कागतीखेती कृषि फार्म, न्यु उन्नत कृषि, शिशिर कृषि फार्म र पात्लेपानी कृषि फार्म रहेका छन् । अनुदान सहयोगमा किसानको ५० प्रतिशत लागत साझेदारी रहेको छ ।
स्थानीय तहमा साना तथा मझौला किसानको हौसला बढाउन र परम्परागत पशुपालनलाई व्यावसायिक रूप दिन उक्त कार्यक्रम प्रभावकारी बन्दै गएको छ ।
कृषकबाट प्राप्त उत्साहजनक प्रतिक्रियालाई ध्यानमा राख्दै चालु आवमा अनुदान कार्यक्रमलाई निरन्तरता दिन लागिएको उहाँले बताउनुभयो ।
कार्यक्रमअन्तर्गत कृषकको उत्पादन क्षमता बढाउन उन्नत जातका बोका तथा माउ बाख्रा वितरण गरिएको छ ।
यसका साथै, स्थानीयस्तरमा रहेका पुराना तथा परम्परागत खोरलाई आधुनिक, सफा र व्यवस्थित बनाउन आवश्यक वित्तीय सहयोग पु¥याइएको छ ।
बाख्रापालनमा आउनसक्ने महामारीजन्य रोगबाट हुने क्षति रोक्न गाउँपालिकाले खोप सेवासमेत घरदैलोमै पु¥याउँदै आएको छ । यसले कृषकको पशुधन सुरक्षित हुनुका साथै व्यवसायमा उत्साह बढेको छ ।
हतुवागढी गाउँपालिकाका अध्यक्ष प्रेमकुमार राईले गाउँपालिकाभित्र कृषि तथा पशुपालनको प्रवर्द्धनलाई उच्च प्राथमिकतामा राखेर नीति, योजना तथा कार्यक्रम सञ्चालन भइरहेको बताउनुभयो ।
वैदेशिक रोजगारीमा जाने युवा शक्तिलाई गाउँमै रोक्न र साना कृषकलाई व्यावसायिक बनाएर स्वरोजगार बनाउन पालिकाले विभिन्न प्रोत्साहनका कार्यक्रम ल्याएको उहाँले जानकारी दिनुभयो ।
स्थानीय तहमै अनुदान, उन्नत नस्ल र प्राविधिक सहयोग उपलब्ध हुन थालेपछि गाउँमै बसेर राम्रो आम्दानी गर्न सकिने आशा बढेको किसानको भनाइ छ ।
