मध्य असारसम्म रुपन्देहीमा १० प्रतिशत पनि रोपाई भएन

भैरहवा, मध्य असार लागिसक्दा समेत रुपन्देहीमा १० प्रतिशत पनि रोपाईं हुन सकेको छैन । प्रयाप्त मात्रामा वर्षा नहुँदा र मलको अभावले किसानले रोपाईं गर्न नपाएका हुन् । जिल्लाका अधिकांश किसानको खेतमा धानको ब्याड सुक्न लागेको छ ।

लुम्बिनी सांस्कृतिक नगरपालिकाका किसान रामनरेश यादवले भन्नुभयो–“कहिले पानी आउला र रोपाईं सुरु गरौंला भनेर दिन बिताइरहनु परेको छ ।” समयमा धान रोप्न नपाएपछि उत्पादनमा कमी आउने चिन्ताले उहाँलाई सताएको छ । यस्तै चिन्ता थपिएको छ मर्चवारका किसान विजय यादवलाई पनि– “प्रयाप्त पानी नपरेसम्म रोपाई सुरु हुन सक्दैन, रोपाई गर्ने गरी पानी परेको छैन, असार मध्यसम्म पनि रोपाई गर्न नपाएपछि उत्पादनमा कमी आउने संभावना बढेको छ”–उहाँले भन्नुभयो ।

प्रदेश पाँचमा पर्ने तराईका अन्य जिल्लाहरु धान उत्पादनका दृष्टिले महत्वपूर्ण छन् । देशको कुल धान उत्पादनको २२ प्रतिशत पाँच नम्बर प्रदेशले ओगटेको छ । “असार १५ मा रोपाई सकेर हिलो पखाल्ने भनिन्छ, तर यसवर्ष रोपाईं सुरु नै हुन सकेको छैन”–मर्चवारका किसान यादवले भन्नुभयो ।

रुपन्देहीको दक्षिणी क्षेत्रका किसानका खेतमा सिंचाईको सुविधा छैन । आकाशे पानीको भरमा रोपाईं गर्नुपर्ने किसानहरुको बाध्यता छ । रुपन्देहीमा ७० हजार हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेकोे छ । कृषि सेवा समितिका अनुसार रुपन्देही जिल्लामा हाल साना ठूला गरी २० वटा सिंचाइ आयोजना सञ्चालनमा छन् । तर त्यसबाट सबै किसानले लाभ लिन नसकेको समितिका अध्यक्षन देव धवलले जानकारी दिनुभयो । भैरहवा–लुम्बिनी भूमिगत जल परियोजनाले २० हजार हेक्टर जमिन सिंचाइ गर्ने क्षमता राख्छ । तर यो जल परियोजना जीर्ण बन्दा रुपन्देहीका अधिकांश क्षेत्रमा आकाशे पानीकै भर पर्नुपर्ने बाध्यता छ ।

रुपन्देहीमा उन्नत र हाइब्रिड जातका धानको बीऊ राखिएको छ । नवलपरासीमा केही समय अघि मात्रै आठ जिल्ला हेर्ने गरी कृषि ज्ञान केन्द्र स्थापना भएको छ । केन्द्रका अनुसार रुपन्देहीका किसानले सावा मन्सुली, सावित्री, मकवानपुर १, सुनौली सुगन्ध, काला नमक, गोरखनाथ ५०९ लगायतका धानको खेती गर्दै आएका छन् ।

जिल्लाको उत्तरी क्षेत्रमा पनि रोपाई सुरु हुन सकेको छैन । देवदह, फर्साटिकर, शंकरनगर, मणिग्राम, मानपकडी, सालझन्डी, सैनामैनामा समेत रोपाई भएको छैन । रुपन्देहीमा ८२ हजार ६ सय २२ हेक्टर जमिनमध्ये १० हजार ८ सय हेक्टरमा मात्रै सिंचाइ सुविधा छ । बाँकी ७२ हजार हेक्टर जमिनमा भने आकाशे पानीकै भरमा खेती हुने गरेको छ ।गोरखापत्र

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?