अलैँचीखेतीतर्फ किसानको आकर्षण

डोटी: पछिल्लो समय जिल्लाका किसानको अलँैची खेतीमा आकर्षण बढेको छ । किसानले धान, मकै तथा कोदोलगायतका अन्न बाली उब्जानी हुने खेतीयोग्य जमीनलाई मासेर धमाधम अलैँची लगाउन थालेका छन् ।

अन्य बालीले भन्दा अलैँचीको आम्दानी बढी हुने भएकाले पनि अलैँची खेतीमा किसानको आकर्षण बढेको केआइसिंह गाउँपालिका काफलीका अलैँचीखेतीका किसान नारायण धामीले बताउनुभयो । उहाँले भन्नुभयो, “अलैँचीको मूल्य पनि राम्रो भएको र अन्य खेतीजस्तो बढी मिहेनत पनि नगर्नु पर्ने भएकाले यसको आकर्षण बढेको हो ।”

खोल्सीको कालो सुन भनेर चिनिने अलैँची धान फल्ने खेत मात्र होइन, खोल्सा खोल्सीलगायत सबै ठाउँमा लाग्ने र खेर गएको ठाउँसमेत सदुपयोग गर्न सकिने भएका कारण अलैँचीको विस्तार गर्न थालिएको जोरायल गाउँपालिका–५ का अर्का अलैँची किसान शेरबहादुर देउवाले बताउनुभयो ।

उहाँले भन्नुभयो, “अलैँचीका लागि खेतीयोग्य जमीन मात्रै हैन, पानी भएको खोल्सा भए नि हुन्छ, अन्य खेतीभन्दा अलैँची व्यवसाय गरे राम्रो आम्दानी हुनेछ ।” यहाँका ग्रामीण क्षेत्रका धेरै घरका करेसाबारीमा समेत अलैँचीले ढाकेको छ । जेठको तेस्रो हप्तादेखि साउन अन्ति सातासम्म जिल्लामा अलैँचीको बिरुवा रोप्ने गरिन्छ ।

डोटीमा पहिलोपटक किसानले अलैँची लगाएर व्यावसायिक खेती गर्न थालेका हुन् । जिल्ला कृषि ज्ञान केन्द्र डोटीका अनुसार पछिल्लो समय यहाँका किसानले सयौँ रोपनी खेतमा अलँैची लगाएको बताइएको छ ।

अलैँचीका बिरुवाका पातमा रोग लागेर केही पात सुक्दै जान थालेपछि भने किसान चिन्तित भएका छन् । यहाँको केआइसिंह गाउँपालिकाले आफ्नो गाउँपालिकामा व्यावसायिकरुपमा अलैँची खेती गर्ने इच्छुक किसानलाई पूर्वी नेपालबाट अलैँचीका बिरुवा ल्याएर अनुदानमा वितरण गरिरहेको गाउँपालिका अध्यक्ष लोकेन्द्रबहादुर शाहीले बताउनुभयो ।

उहाँले भन्नुभयो, “अन्य खेतीभन्दा अलँैची खेतीमा बढी ध्यान दिने तथा अलैँची खेती गर्न इच्छुकलाई हामीले अलैँचीका बिरुवा वितरण गर्दैछौँ, हेरौँ कतिको फलदायी हुन्छ ।” कृषि ज्ञान केन्द्र डोटीले अलैँची कृषकको क्षमता विकासका लागि जिल्लास्तरीय कार्यक्रम र स्थलगत घुम्ती तालीम, बगान व्यवस्थापनलगायतका कार्यक्रम सञ्चालन गर्ने जनाएको जनाएको छ ।

जिल्लाका नौवटा स्थानीय तहमध्ये अहिले जोरायल, केआइसिंह, बडीकेदार, बोगटानफुड्सिललगायतका क्षेत्रका किसानले अलैँचीखेती गर्दै आएका छन् । जिल्लामा करीब ४०० हेक्टरमा अलैँचीखेती हुँदै आएको बताएको छ ।

विसं १८३० को दशकमा पहिलोपटक सिक्किमबाट इलाम जिल्लाको जोगमाई गाउँमा अलैंचीको बिरुवा ल्याई खेती शुरु भएको कृषि मन्त्रालयको तत्थ्याङ्कमा उल्लेख गरिएको पाइन्छ । डोटी जिल्लासहित यहाँका अन्य पहाडी जिल्लाको माटो, भौगोलिक वातावरणलगायत अन्य विभिन्न कारण अलैँची खेती गर्न उत्तम ठाउँ भएको र अलैँचीबाट राम्रो आम्दानी हुने डोटीका कृषि प्राविधिक मदन खड्काले बताउनुभयो ।

उहाँले भन्नुभयो, “डोटीलगायत समग्र सुदूरपश्चिमका पहाडी जिल्ला अलैँचीखेतीका लागि योग्य र उपयुक्त ठाउँछ यहाँ अलँैचीखेती गरे किसानको राम्रै आम्दानी हुने निश्चित छ ।” जिल्लामा उत्पादन हुने अलैँचीको बजारीकरणको जिम्मा सम्बन्धित स्थानीय निकायले लिने प्रतिबद्धता जनाएका छन् । रासस

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments