कोरानाले गराएको परिवर्तन , बाँझो जमिनमा सामूहिक तरकारी खेती शुरु

तनहुँ: तनहुँको व्यास नगरपालिका–६ कटुजे, सिसाघाटमा सात जना मिलेर व्यवसायिक रुपमा गोलभेँडा तथा अकबरे खुर्सानी खेतीको शुरु गरेका छन् । इश्वरी नागिला, रामचन्द्र नागिला, उत्तमप्रसाद नागिला, धुव्रसिंह ठकुरी, सङ्गम नागिला, बुद्धि सुनार र बुद्धिवंशी ठकुरीले संयुक्त रुपमा खेती गर्नुभएको हो । कोरोना भाइरस (कोभिड–१९) ले गर्दा सरकारले गरेको बन्दाबन्दी समयको सदुपयोग गरी एक/एक लाख सङ्कलन गरी सात लाख रुपियाँको लागतमा खेती शुरु गरेको लगानीकर्तासमेत रहनुभएका इश्वरी नागिलाले जानकारी दिनुभयो ।

सात रोपनी जमिनमा गोलभेँडा र चार रोपनीमा अकबरे खुर्सानीको खेती गर्नको लागि बेर्ना र टनेल तयार भइसकेको उहाँले जानकारी दिनुभयो । सामूहिक खेती गर्ने उहाँहरू स्थानीय महेन्द्री गङ्गा कृषि सहकारी संस्थामा आबद्ध हुनुहुन्छ । सहकारीले आवश्यक तालिम प्रदान गर्ने तथा सरकारबाट प्राप्त विभिन्न अनुदानको लागि पहलकदमी गर्ने विश्वास दिलाएपछि सामूहिक तरकारी खेतीमा लागेको उहाँहरूको भनाइ छ ।

पहिला छेउकुना पनि बाँझो नरहने सिसाघाटमा दैलोअगाडि पनि बाँझो राख्न थालेको बेला विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) ले सबैभन्दा भरपर्दो पेसा कृषि भएको हाे भन्ने सिकाएकाेले सामूहिक खेती शुरु गरेको शिक्षकसमेत रहनुभएका रामचन्द्र नागिलाले जानकारी दिनुभयो । उत्पादित तरकारी सदरमुकाम दमौली तथा नजिकका सहरमा लगेर बिक्री गर्ने उनीहरूको योजना छ ।

वार्षिक रुपमा १० लाख रुपियाँको टमाटर र १२ लाख रुपियाँको खुर्सानी उत्पादन गरी बिक्री गर्ने लक्ष्य राखिएको धुव्रसिंह ठकुरी बताउनुहुन्छ । बलबहादुर श्रेष्ठको बाँझो रहेको जमिनलाई वार्षिक २० हजार रुपियाँ भाडा दिने गरी पाँच वर्षलाई सम्झौता गरी खेती शुरु गरिएको उनीहरूको भनाइ छ ।

उनीहरूले गोलभेँडा खेतीको लागि १४ वटा टनेल निर्माण गरिसकेका छन् । उनीहरूले सामूहिक तरकारी खेती गरेपछि अन्य व्यक्तिले पनि व्यवसायिक रुपमा कृषि पेसा गर्नको लागि चासो राख्न थालेको सिसाघाटस्थित महेन्द्रज्योती माध्यामिक विद्यालयका शिक्षक शिवप्रसाद ढुङ्गानाले बताउनुभयो ।गोरखापत्र अनलाइनमा खबर छ।
अमरराज नहर्की

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?