एक गेडो धान उत्पादन नभएपछि किसानले लगाए धान खेतमा आगो

चितवन, पूर्वी चितवनको राप्ती नगरपालिका ४ वेलुवाका किसानले लगाएको धान उत्पादन नभएपछि आइतबार ट्याक्टर लगाएर धानको बोटसहित जोतेका छन् ।

अर्काको २२ कट्ठा खेत भाडामा लिएर कमलप्रसाद तिवारीले चैते धान रोपेका थिए । तर स्याहार्न भने पाएनन् । घाँटी मरुवा अर्थात् नेक ब्लाष्ट नामको रोगले उनको धान सखाप भयो । बाला सुकेर पहेँलै भएको छ । तर धानको दाना छैन, भुसमात्रै । नेक ब्लाष्टले बालाको फेदमा आक्रमण गर्दछ ।

बाला नै मरेपछि दाना कसरी पर्नु । दाना नै नलागेको धान किन स्याहार्नु ? तिवारीले आइतबार मध्यान्ह धान खेतमै आगो सल्काए ।

धानको बोट राम्रोसँग सुकेको थिएन । त्यसैले आगोले मात्रै नष्ट भएन । उनले ट्रयाक्टर लगाएर पुरै खेत जोते । धान रोप्दा ५५ हजार रुपैयाँ खर्च भएको थियो । फले ५५ क्विन्टल धान आउँथ्यो । तर यो वर्ष नेक ब्लाष्टले सवै ध्वस्त बनायो । पूर्वी चितवन राप्ती नगरपालिका–४ बेलुवामा रहेको तिवारीको धानखेतमा मात्रै यो समस्या छैन । वरपर सबै किसानको अवस्था यही नै हो ।

बेलुवामा मात्रै हैन चैते धानको खेती हुने पूर्वी चितवनको सबै क्षेत्रमा यो समस्या देखिएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना चितवनका कृषि अधिकृत माधव पौडेलका अनुसार चितवनमा लगभग ५ हजार हेक्टर जमिनमा चैते धान खेती हुन्छ । त्यसमध्ये अधिकांश खेती पूर्वी चितवनमै हुन्छ । पूर्वी चितवनको राजमार्ग दक्षिणको २६ सय हेक्टरलाई परियेजनाले ‘धान जोन’ घोषणा गरेको छ ।

किसानहरुले हर्दिनाथ–१, घ्युपुरी, पिआरजस्ता धानहरु चैत्रमा रोप्ने गर्दछन् । सबैभन्दा धेरै हर्दिनाथ–१ को खेती हुने गर्दछ । कृषि अधिकृत माधव पौडेल ७० प्रतिशत हर्दिनाथ–१ र बाँकी ३० प्रतिशत अन्य धान रोप्ने चलन रहेको बताउँछन् । घाँटी मरुवा रोगको प्रकोप हर्दिनाथ–१ धानमा देखिएको छ । अन्य धानमा फाट्टफुट्ट समस्या देखिए पनि हर्दिनाथ–१ रोपेको ठाउँमा सखापै जस्तो भएको किसानहरु बताउँछन् ।

कृषि अधिकृत माधव पौडेलका अनुसार हर्दिनाथ लगाएको पूर्वी चितवनको राप्ती र खैरहनीका साथै रत्ननगर नगरपालिकामा पनि यस्तो समस्या देखिएको छ । कम्तीमा २० प्रतिशतदेखि अधिकतम शत प्रतिशतसम्म धान नोक्सान भएको प्लटहरु फेला परेको उनले बताए । नेक ब्लाष्टका कारण चैते धान उत्पादनमा ५० प्रतिशतभन्दा बढी नोक्सान हुने अवस्था रहेको कृषि अधिकृत पौडेलले बताए ।

हर्दिनाथ–१ धेरै फल्ने नेपाली हाइब्रिड जात हो । प्रतिहेक्टर ६ टनसम्म उत्पादन हुन्छ । साथै यो धानलाई असिनाले कम नोक्सान गर्ने, हावाहुरीले पनि ठूलो क्षति नपुर्‍याउने खालको भएको कारण किसानहरुले मन पराउने खैरहनी कठारका किसान कृष्णप्रसाद अर्यालले बताए । यो धानमा अघिल्लो वर्ष पनि नेक ब्लाष्टको समस्या देखिएको थियो । यो वर्ष लगाए दोहोरिने सम्भावना थियो । तर धेरै फल्ने भएकाले किसानले लगाए ।

विषादी छर्के रोग नियन्त्रणमा आउँथ्यो । यो ढुसीजन्य रोग हो । तर लगातार जसो पानी पर्‍यो । विषादी छरे पनि पखालिने भएका कारण प्रभावकारी हुन नसकेको कृषि अधिकृत पौडेलले बताए । ‘विषादी छरेपछि पानी परेकै छ । आज विषादी छर्‍यो, पानी आयो भने रोग झन् फैलन थाल्यो’ किसान अर्यालले अनुभव सुनाए । यो क्षेत्रमा गएको वर्ष वर्षे धानमा गरिमा धान नफलेर ठूलो क्षति पुगेको थियो । अहिले नेक ब्लाष्टको मार थपिएको छ ।कान्तिपुर

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?