सिक्टा सिँचाइ आयोजनाको पानी खेतमा, किसान हर्षित

“सधैँ रोपाइँ गर्ने बेला आकाशे पानीको भर पर्नुपथ्र्यो, अहिले सिक्टाको पानी आएपछि खेती किसानीमा धेरै सजिलो भएको छ”

राँझा। बाँकेमा निर्माणाधीन राष्ट्रिय गौरवकोे सिक्टा सिँचाइ आयोजनाबाट राप्ती नदीको पानी खेतमा पुगेपछि किसान हर्षित भएका छन् ।

आयोजनाले धान रोपाइँलाई ध्यानमा राखी पश्चिमी मूल नहर र पूर्वी नहरबाट पानी सञ्चालन गरेपछि किसानको खेत सिँचित भएको छ ।

नहरको पानी खेतबारीमा पुगेपछि यस वर्ष समयमै धान रोपाइँ गर्न पाइएको डुडुवा गाउँपालिका वडा नं ५ कम्दीका किसान मानबहादुर मगरले बताए। “सधैँ रोपाइँ गर्ने बेला आकाशे पानीको भर पर्नुपथ्र्यो, अहिले सिक्टाको पानी आएपछि खेती किसानीमा धेरै सजिलो भएको छ”,उनले भने ।

सिक्टाको पानी खेतबारीमा पुगेपछि कम्दी गाउँका किसानले तरकारी खेती गरेर नगद आर्जन गर्न थालेको डुडुवा – ५ का वडाध्यक्ष परशुराम बुढाथोकीले जानकारी दिए। “सिक्टाको पानी आएपछि अहिले किसानले आलु, गोभी र सागलगायत तरकारी खेतीबाट पनि आम्दानी गर्न सफल भएका छन्”, उनले भने,“सिक्टाको पानी खेतमा पुगेपछि समयमै खेती किसानी गर्न पाउँदा किसान खुशी भएका छन् ।”

आयोजनाका निर्देशक लोकबहादुर थापाले धान रोपाइँलाई ध्यानमा राखी पश्चिमी मूल नहरको जेठी नालासम्म र पू्र्वी नहरको साविक राजकुलोबाट विभिन्न शाखा तथा प्रशाखा नहरमार्फत किसानको खेतबारीमा पानी पुगेको बताए। उनका अनुसार पश्चिमीमूल नहरअन्तर्गत रहेका सिधनिया, डुडुवा र जेठी नाला शाखा र पूर्वी नहरको साविक राजकुलो सिँचाइको पुरानो नहर हुँदै किसानको खेतबारीमा पानी छाडिएको हो । “हामीले वैशाख पहिलो हप्तादेखि नहरमा नियमित पानी छाडेका छौँ, जेठ १५ पछि क्रमशः विभिन्न शाखा र प्रशाखाबाट किसानको खेतबारीसम्म पानी पुर्याउने काम भइरहेको छ”, आयोजना निर्देशक थापाले भने, “आयोजनाको सिँचाइ लक्ष्यको करीब आधाजसो क्षेत्रफलमा सिक्टाको पानी पुगेको छ ।”

अहिलेको अवस्थामा पश्चिमी मूल नहरअन्तर्गत डुडुवाको पुरानो नहर र केही नालामा राखेर १५ हजार हेक्टर र पूर्वी नहरअन्तर्गत राजकुलो सिँचाइको पुरानो नहरमार्फत एक हजार हेक्टर गरी १६ हजार हेक्टरलाई १२ महिना धानखेतीलाई सहजै सिँचाइ दिन सकिने आयोजना निर्देशक थापाले जानकारी दिए।

यसअघि परीक्षण गर्ने क्रममा दुई पटक उक्त आयोजनाको पश्चिम मूल नहर पहिलो पटक ढकेरीस्थित झिझरी खोला र दोस्रो पटक चङ्गाई नाला नजीक भत्किएको थियो । अहिले दुई महिनाभन्दा बढी समय सञ्चालन हुँदा पनि नहरमा कुनै समस्या देखिएको छैन । सिक्टा सिँंचाइ आयोजनाको कुल बजेट रु २५ अर्ब रहेकामा रु १४ अर्ब थप बढाएर पाँच वर्षभित्र काम सक्ने गरी रु ३९ अर्बको संशोधित गुरुयोजना बनाइएको छ । पूर्वी र पश्चिमी मुख्य नहरसँगै शाखा, उपशाखा र प्रशाखा नहरसहित दुई वर्षमा सिंचाइको मुख्यमुख्य सञ्जाल बनिसक्ने आयोजना निर्देशक थापाको भनाइ छ ।

नेकपा बाँके क्षेत्र नं १ का अध्यक्ष सूर्य ढकालले पर्याप्त मात्रामा वर्षा नभए पनि यस वर्ष सिक्टाको नहर पुगेका ठाउँमा किसानले समयमै धानको ब्याड राख्न र रोपाइँ गर्न पाएको जानकारी दिँदै अब बेमौसमी तथा व्यावसायिक तरकारी खेती गरेर सिँचाइको उपयोग गर्नुपर्ने बताए। रासस

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments