राजस्थानबाट सलहको ठूलो झुण्ड उत्तरतर्फ लाग्यो, नेपाल जोखिममा

सलह

काठमाडौं, भारतको राजस्थान क्षेत्रबाट सलहको ठूलो झुण्ड उत्तरतर्फ अघि बढेको छ । यसबाट सलहको ठूलो झुण्ड नेपाल प्रवेश गर्ने जोखिम बढेको सलह सूचना केन्द्रले जनाएको छ ।

राजस्थानको सिकर आसपासको चार सय हेक्टर जमिनमा फैलिएको सलहको ५ वटा झुण्ड चुरु हुँदै पूर्व र उत्तर भएर अघि बढेको केन्द्रले बताएको छ ।

त्यसैले सीमावर्ती नेपाली क्षेत्रमा सतकर्ता अपनाउन आग्रह गरिएको छ । तराई तथा भित्री मधेशका भूभागहरूमा विशेष सतर्कता अपनाउन तथा आवश्यक पूर्वतयारी गर्न सबै सरोकारवालाहरूलाई केन्द्रले भनेको छ ।

भारतको सीतापुर तथा साहजहाँपुर क्षेत्रतर्फ अघि बढ्ने अनुमान गरिएको सलहको उक्त झुण्ड हावाको बहावसँगै नेपाल प्रवेश गर्न सक्ने जोखिम रहेको प्लान्ट क्वरिन्टाइन तथा विषादी व्यवस्थापन केन्द्र अन्तर्गत रहेको सूचना केन्द्रका प्रमुख रामकृष्ण सुवेदीले बताए ।

सलह अध्ययन गर्ने प्लान्ट भिलेज तथा संयुक्त राष्ट्रसंघ अन्तर्गतको खाद्य तथा कृषि कार्यक्रमले केन्द्रलाई उपलब्ध गराएको सलहको मुभमेन्टसम्बन्धी जानकारीमा सो कुरा उल्लेख भएको केन्द्र प्रमुख सुवेदीले जानकारी दिए ।

‘अनुकूल मौसममा राजस्थानको मरुभूमि (पश्चिम) तर्फ जानुपर्ने परिपक्व हुँदै गरेका झुण्डहरू हावाको बहावसँगै पूर्व-उत्तरतर्फ लाग्न सक्ने पूर्वानुमान गरिएको छ, हावाको बहावसँगै स्थानान्तरण गर्न सक्ने भएकोले उक्त झुण्डहरू नेपाल प्रवेश गर्न सक्ने सम्भावना रहेको छ,’ सुवेदीद्वारा जारी अड्भाइजरीमा भनिएको छ ।

भारतको राजस्थानबाट दक्षिण पश्चिमी वायुको प्रभाव बढ्दै जाँदा राजस्थानमा रहेका सलहका झुण्डहरू भारतको हरियाणा, मध्य प्रदेश, उत्तर प्रदेश तथा छत्तिसगढतर्फ अगाडि बढ्न सक्ने प्रक्षेपण गरिएको छ ।

त्यसमध्येका केही झुण्ड केहीदिनमा नेपालमा समेत प्रवेश गर्न सक्ने सम्भावना देखिएको केन्द्रको भनाइ छ ।अनलाइनखबर

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?