ठूला व्यापारीले मिलेमतो गर्दा आकासियो चिनीको भाउ

काठमाडौं : चिनीको मूल्य अकासिएको छ। मुलुकभित्र चिनीको मौज्दात सकिँदै गएपछि ठूला व्यापारीले मिलेमतो गरी चिनीको मूल्य अत्यधिक वृद्धि गरेका छन्। अहिले खुद्रामा चिनीको मूल्य प्रतिकिलो एक सय रुपैयाँसम्म पुगेको छ।

बजार मूल्य हस्तक्षेपको भूमिका खेल्दै आएको साल्ट ट्रेडिङ कर्पोरेसनसँग चिनीको मौज्दात सकिएको अवस्थामा बजार मूल्य वृद्धि भएको हो। यही बेला स्वदेशी उद्योगसँगसमेत मौज्दात सकिएको छ। मौज्दात सकिएको मौकाको फाइदा उठाउँदै व्यापारीले मूल्य बढाएका छन्।

नेपाल खुद्रा व्यापार संघका अनुसार पछिल्लो ३ दिनको अवधिमा चिनीको उपभोक्ता मूल्य वृद्धि भएको हो। संघका अनुसार थोक बिक्रेताले मूल्य बढाएर पठाएका कारण चिनीको उपभोक्ता मूल्य पनि बढेको हो। प्रतिकिलो चिनीमा १० देखि १५ रुपैयाँसम्म वृद्धि भएको छ।

संघका अध्यक्ष राजकुमार श्रेष्ठका अनुसार थोकमा प्रतिकिलो ८५ देखि ९० रुपैयाँ रहेको चिनीको खुद्रा पसलले एक सय रुपैयाँसम्म बिक्री गर्न थालेका छन्। ‘तीन दिन अघिसम्म खुद्रामा ८५ देखि ९० रुपैयाँसम्ममा चिनी बिक्री भएको थियो’, श्रेष्ठले भने, ‘साल्ट र स्वदेशी चिनी उद्योगीसँग चिनीको मौज्दात सकिएकाले ठूला व्यापारीले कालोबजारी गरी मूल्य अत्यधिक बढाएका हुन्।’

साल्ट ट्रेडिङ कर्पोरेसनसँग अहिले एक हजार ३ सय टन चिनी मौज्दात छ। तर उक्त चिनी साल्टले आपतकालीन अवस्थाका लागि भण्डारण गरी राखेको छ। साल्टले आफ्नो स्टक सक्ने क्रममा रहेको र नसक्दै आयात गर्नुपर्ने भन्दै गत चैत अगावै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा सहमतिका लागि पत्राचार गरेको थियो। ‘चिनीका विषयमा मन्त्रालयमा पत्राचार गरे पनि हालसम्म कुनै जानकारी प्राप्त भएको छैन’, साल्ट ट्रेडिङ कर्पोरेसनका सहमहाप्रबन्धक कुमारराज भण्डारीले भने, ‘सहमति नआउँदा हामीले चिनी खरिद गरी आयात प्रक्रिया अघिबढाउन सकेनौं।’

नेपाल चिनी उद्योग संघका अध्यक्ष शशिकान्त अग्रवालका अनुसार स्वदेशी उद्योगसँग पनि करिब चिनीको सञ्चित अवस्था सकिएको छ। उनले भने, ‘शुक्रबारसम्म सवै उद्योगसँग करिब ७ हजार टन चिनी सञ्चित भए पनि आइतबार घटेर कम परिमाणमा पुगिसकेको छ। चिनीको मौज्दात सकिएपछि उपभोक्ता मूल्य वृद्धि भएको हो। सरकारले नियमन गरिदिने हो भने व्यापारीले आयात गर्ने चिनीको मूल्यमा केही नियन्त्रण गर्न सकिन्छ।’ स्वदेशी उद्योगबाट गत सिजनमा करिब १ लाख ३६ हजार टन चिनी उत्पादन भएको थियो। भारतबाट आयातकर्ताले चिनी ल्याउन सुरु गरेकाले अहिले वृद्धि भएको चिनीको मूल्य केही घट्न सक्ने अग्रवालले बताए।

नेपालमा मासिक २० हजार टन र वार्षिक दुई लाख ५० हजार मेट्रिक टन चिनीको माग छ। यसबाहेक दसैंतिहार र छठसम्म अतिरिक्त करिब ३५ हजार मेट्रिक टन चिनी माग हुन्छ अन्नपुर्ण पोस्टमा खबर छ।

राजेश बर्मा

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments