कोरोनापछि फेरियो जिल्लाकै परिचय

मनाङ। हिमाल पारिको जिल्ला मनाङको परिचय पछिल्लो समय फेरिन थालेको छ । पर्यटन र पशुपालन मात्र नभई अहिले तरकारी खेतीतर्फ समेत स्थानीय बासिन्दा आकर्षित हुन थालेका छन् ।

विगतमा फापर, जौ, आलु, गहुँ मात्र उत्पादन हुने ठाउँमा स्थानीय किसानको मिहेनत र परिश्रमका कारण अहिले तरकारीसमेत मनग्य फल्ने गरेको छ ।

मौसमी र बेमौसमी तरकारी खेती गरेर अहिले राम्रो आम्दानीको बाटो पहिल्याएका छन् । ङिस्याङ गाउँपालिका–५, भ्राकाको मस्र्याङ्दी नदी किनारमा फलेका बन्दा, गोलभेंडा र गाजर हेर्दा जो कोहीको मन लोभिन्छ ।

पहिले आलु र फापर मात्रै हुने यस ठाउँमा अहिले तरकारी राम्रोसँग उत्पादन भएको देख्दा यहाँका किसानहरु मख्ख छन् । वडाध्यक्ष तथा पर्यटन व्यवसायी कर्मछिरिङ गुरुङको बारीमा लगाएको बन्दा, काउली एउटै करिब ५ देखि ७ किलोग्रामसम्म र गाजर पनि एउटै करिब एक केजी बराबरको फलेका छन् ।

अध्यक्ष गुरुङले भन्छन्, “मैले आफूलाई पुग्ने मात्र होइन, केही बेच्ने गरी तरकारी लगाएको थिएँ, तर सडक अवरुद्ध भएकाले गर्दा बजार पर्याउन सकिएन, तरकारी भने राम्रो उत्पादन भएको छ ।”

आफ्नो बारीमा पूर्ण रुपमा अर्गानिक तरकारी उत्पादन भएको बताउँदै उनले अघिल्लो पुस्ताले तरकारीको नाममा आलु मात्र रोप्ने गरेकामा अहिले मनाङका धेरै स्थानमा विभिन्न तरकारी खेती हुने गरेको बताए।

समुन्द्री सतहबाट तीन हजार ४८० मिटरमा उचाइमा रहेको भ्राकामा फलफूलको रुपमा स्याउ फल्ने गरेको छ । माथिल्लो मनाङबाट लमजुङ बेंशीशहरसम्म पुग्न करिब १० घण्टा सवारी साधनबाट यात्रा गर्नु पर्दछ । त्यसैले पनि उत्पादन भएका तरकारी र स्याउ बजारसम्म लगेर बिक्री गर्न समस्या हुने गरेको उनको भनाइ छ ।

त्यस्तै मनाङ गाउँका पर्यटन व्यवसायी विनोद गुरुङ पनि देशैभरि कोरोना महामारीका कारण आफ्नो व्यवसाय धरापमा परेपछि खेतीपातीमा लागेका छन् । अहिले उनको बारीमा फलेका तरकारी जिल्लाकै नमूना बनेका छन् । काउली, बन्द, गाजार, प्याज उतिकै राम्रा फल लागेका छन् । झन्डै १० किलोका काउली बन्दा रहर लाग्दा देखिन्छन् ।

हुन त यहाँका सबै मानिसहरु होटल व्यवसायसँगै खेतीपातीमा पनि संलग्न रहेका छन् । आफू खानलाई आफ्नै उत्पादनबाट नै पुर्याउने गरेको व्यवसायी गुरुङले बताए ।

माछा, मासु, चामल बाहिरबाट ल्याउने गरेपनि तरकारी आफ्नै उत्पादनबाट पुग्ने गरेको उनको भनाइ छ । पहिले बेंशिसहर, डुम्रेबाट हप्तौं लगाई बोकाएर लगेको तरकारी खान बाध्य यहाँका वासिन्दा अहिले आफ्नै बारीको ताजा र अर्गानिक तरकारी खान पाउँदा खुशी छन् ।

पहिले आलु मात्र खेती गरेको र अहिले आलुसँगै काउली, बन्द, गाजरलगायतका तरकारी उत्पादन गर्दा होटल व्यवसायमा सहयोग पुगेको उनको भनाइ छ ।

पर्यटन व्यवसायी सङ्घ मनाङका अध्यक्ष समेत रहनुभएका उहाँ बन्दाबन्दीले पर्यटकको आगमन नभएपनि फुर्सदको समयमा तरकारी खेती गर्न सक्षम भएका छौंँ, अब पर्यटकहरुलाई पनि स्थानीय तरकारी खुवाउन सकिने भएको बताउँछन्। जिल्लालाई कृषि पर्यटनको रुपमा पनि विकास गर्न सकिने उनको भनाइ छ । रासस

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?