समय बितिसक्दा पनि किसानले मल पाएनन्

किसान मोर्चा

सन्धिखर्क :

धानमा रासायनिक मल हाल्न नपाउँदा अर्घाखाँचीका किसान चिन्तित बनेका छन्। धान बालीमा मल हाल्ने समय बितिसक्दा पनि किसानले मल पाएका छैनन्। लकडाउनका कारण आवश्यकताअनुसार भारतबाट मल आयात गर्न नसक्दा अहिले अभाव भएको हो। कृषि ज्ञान केन्द्र अर्घाखाँचीका प्रमुख देवेशकुमार मि श्रले चाहिनेभन्दा निकै कम रासायनिक मल आएकाले जिल्लामा अभाव भएको जानकारी दिए। उनका अनुसार हाल जिल्लामा तत्काल करिब १ सय ५० मेट्रिक टन मल आवश्यक छ।

बजारमा युरिया मलको कालोबजारी भएको किसानको गुनासो छ। कृषि सामग्री केन्द्रले उत्पादन गरेको युरियाको प्रतिकिलो मूल्य १६ देखि १८ रुपैयाँ भए पनि किसान ४० रुपैयाँसम्ममा मल किन्न बाध्य छन्।

कृषि सामग्री केन्द्रकै मल अन्य बोरामा राखेर किलोको ४० रुपैयाँसम्ममा किसानलाई बिक्री गर्ने गरेको र त्यही मल किसानले किन्नुपर्ने बाध्यता रहेको सन्धिखर्क नगरपालिका ८ किमडाँडाका किसान पुस्करनाथ बन्जाडेले बताए।

विगतमा स्थानीय जातका धान रोप्ने अधिकांश खेतमा अहिले हाइब्रिड जातको धान रोपिएको छ। स्थानीय जातको धानलाई युरिया थोरै भए पनि पुग्छ। तर हाइब्रिडलाई बढी चाहिन्छ। सन्धिखर्क ११ डिभर्नाका किसान कुलबहादुर कुँवरले मल नहाले धान उत्पादन ५० प्रतिशतले घट्ने बताए।

धान रोपेको एक महिनापछि युरिया राख्नुपर्छ। तर मल अभाव छ। सन्धिखर्क १० धरम्पानीका किसान तिलक आचार्यले मल आपूर्तिमा सरकारले बेवास्ता गरेको गुनासो गरे। यस वर्ष धानको उत्पादन घट्ने अनुमान किसानले गरिसकेका छन्।

लकडाउनको समय भएकाले भारतबाट मल आउन नसक्दा बजारमा अभाव रहेको नयाँ नेपाल एग्रोभेट सन्धिखर्कका सञ्चालक युवराज पौडेलले बताए। मलको माग बढेको तर जिल्लामा भित्र्याउन नसकिएको उनको भनाइ छ।

-प्रेमनारायण आचार्य अन्नपुर्णपोस्ट

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments