अनुदानको नाममा कृषि ज्ञान केन्द्रबाट व्यापक अनियमिता

अभिमन्यु लामिछाने
उदयपुर ।
उदयपुरमा जिल्ला कृषि ज्ञान केन्द्रबाट दिने अनुदानमा व्यापक आर्थिक अनियमिता भएको छ । अनियमितताले अनुदान पाउने कृषकसमेत खुसी छैनन् ।

व्यावसायिक रुपमा तरकारी खेती गर्दै आएका त्रियुगा नगरपालिका- ३ का कृषक लिल बहादुर कार्कीलाई कृषि ज्ञान केन्द्र उदयपुरबाट दुईवटा टनेल निर्माणका लागि ५ लाख अनुदान पर्याे । कृषक कार्कीलाई परेको अनुदान बापतको रकम पाँच लाख न उनले देख्न पाए, न उनले काम लगाउँन नै पाए ।

कमिसनको खेलले गर्दा कृषि ज्ञान केन्द्रको सेटिङमा ज्ञान केन्द्रले नै ठेक्का दिएको र त्यही ठेकेदारकै नाममा अनुदानको रकम आएको कार्कीले बताए । कतिपयले राजनीतिक पहुँचका आधारमा केही काम नगरी अनुदान रकम भुक्तानी गरेका छन् ।

कृषक कार्की भन्छन्, ‘पाँच लाख पर्ने टनेल हामीले सामान गरिद गरेर स्थानीय कामदार लगाएर निर्माण गर्दा ३ लाखमा मज्जाले बनाइन्छ।’ खरिद गरिएका सामग्रीहरु पनि निर्देशिकाविपरीत रहेको पाइएको छ ।

टनेल निर्माणका लागि निर्देशिकामा ‘जीआइ फलाम’ लगाउन भनिए तापनि ठेकेदारले अन्य साधारण र सस्तो फलाम लगाइदिएका छन् । खरिद गर्दा फलामको बजार मूल्य प्रतिकेजी ८० रहेको र उनीहरुले बिलमा ८६ काे दरले खरिद गरेको भन्दै पैसा लिएका छन् ।

त्यस्तै त्रियुगा नगरपालिका- ६ को उदयपुर आधुनिक कृषक समुहलाई १० वटा टनेल निर्माणका लागि १८ लाख अनुदान र ५ लाख कृषकहरुबाट गरेर २३ लाखमा १० टनेल निर्माणको लागि अनुदान पर्याे ।

‘हामी किसानहरु आफै बनाउछौं आफै सामान खरिद गर्छौं भन्दा पनि कृषि ज्ञान केन्द्रले बनाउने हो भन्दै उहाँहरुले नै बनाइदिनुभयो । के कति खर्च लाग्यो, हामी बेखर छौं,’ कृषक दिपक राउतले गुनासो गरे ।

१० वटा टनेल परे पनि यति नै आकारको हो भनेर ६ वटा मात्र बनाइदिएको अर्का कृषक धर्म बहादुर दाहालले बताए ।

जिल्ला कृषि ज्ञान केन्द्र उदयपुरका निमित्त प्रमुख नरनाथ रेग्मीले भने, ‘किसानहरुले नभ्याउने हुँदा अाफैले सामान खरिद गरिदिएका हाैँ ।’ यो वर्ष अनुदान वापतको रकम वितरणमा धेरै त्रुटिहरुको स्वीकार गर्दै आगामि दिनमा यस्ता किसिम्मका गल्ती नदोहोर्याउने उनले बताए ।
जिल्लामा कृषि ज्ञान केन्द्रले २०७६–०७७ मा २ करोड ७४ लाख ४२ हजार ९ सय ५८ रुपयाँ अनुदान वितरण गरेको छ ।

२ किलोमिटर दुरीको यातायात खर्च २२ हजार !

ज्ञान केन्द्रकै मिलेमतोमा सामान खरिद गर्ने र निर्माणको जिम्मा पनि कर्मचारीका नजिकका मान्छेलाई दिने गरेको पाइएको छ ।
टनेल निमार्णका लागि सामान गरिद गर्दा खरिद गरेको ठाँउदेखि २ किलोमिटर दुरीको यातायात खर्च ठेकेदारले २२ हजारको बिल लिएको पाइएको छ । जबकि यो दुरीमा २ हजार पनि खर्च नलाग्ने स्वयम् किसानले बताएका छन् । बिचौलियाले कमसल सामग्री खरिद गर्ने र ढुवानी १० गुणा बढी लिने गरेका छन् ।

किसानको खातामा आउँदैन अनुदान रकम

अनुदान बापत आउने रकम पनि किसानको खातामा आउँदैन । बिचौलियाको नाममा कृषि ज्ञान केन्द्रले दिने गरेको पाइएको छ ।

‘हाम्रो त नाम मात्र आउने हो । पैसा हाम्रो खातामा आउँदैन । केके गर्छन्, हामीलाई थाहा नै हुँदैन । सोध खोज पनि गर्दैनन,’ तरकारी खेतीमा अनुदान पाएका एक कृषकले नाम उल्लेख नगरिदिने शर्तमा भने ।

फितलो अनुगमन

अनुदान दिने र अनुगमन गर्ने निकाय राजनीतिक पहुँचका आधारमा चलेपछि अनुगमन फितलो बनेको छ । अनुगमनमा राजनीतिक पार्टीका कार्यकर्ताहरू हाबी भएका छन् । सासंद र जिल्ला समन्वय समितिका प्रमुखसहित उनीहरुका आफ्ना नजिकका कार्यकर्तालाई समेत लिएर हिड्ने गरेका छन् ।

साथै अनुगमनमा हिँडेवापत आकर्षक भत्ता पाउने भएकाले पहुँचका आधारका कार्यकर्ताहरुलाई समेत अनुगमनमा हिडाइएको खुलेकाे छ । यसरी पहुँचका आधारमा अनुदान पाएकाले मापदण्डअनुसार काम नै नगर्ने गरेकाे पनि पाइन्छ ।

दोहाेरो अनुदान

एउटै फर्मलाई दोहाेरो अनुदान दिएको समेत पाइएको छ । जिल्ला कृषि ज्ञान केन्द्र र भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको अनुदान वितरणका लागि छनोट समिति एउटै भए तापनि पहुँचका आधारमा एउटा फर्मले दोहाेरो अनुदान समेत पाएका छन् ।

कृषि र पशुसेवाबाट एउटै फर्मलाई २ ठाँउबाट किन अनुदान दिनुभएको हाे भन्ने प्रश्नमा कृषि ज्ञान केन्द्रका निमित्त प्रमुख नारनाथ रेग्मीले अञ्जान बन्दै आफूलाई थाहा नभएको र त्यस्तो भए कारबाही गर्ने आश्वासन दिए । -न्युज 24

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments