दोलखामा पहिलोपटक कालिजको व्यावसायिक पालन सुरु

व्यावसायिक कालिज पालनमा रमाउँदै युवा

कैलाश लामा

चरिकोट। बागमती प्रदेशको हिमाली जिल्ला दोलखामा पहिलोपटक कालिजको व्यावसायिक पालन सुरु गरिएको छ । जिल्लाको भीमेश्वर नगरपालिका वडा नम्बर ७ मकैबारीमा मासुका लागि व्यावसायिक रुपमा कालिज पालन सुरु गरिएको हो ।

दुध पोखरी वाइल्ड लाईफ एग्रो विथ रिसोर्ट प्रालिले दुई हजार ‘रिङ नेक’ जातको कालिज पालन गरेका छन् । एक हजार पाँच सयको दरले दुई हजार कालिजको चल्ला ल्याएर पालेको फार्मले मासुको लागि मात्रै नभएर ह्याचारी मार्फत चल्ला उत्पादन गर्ने लक्ष्य रहेको दुध पोखरी वाइल्ड लाईफ एग्रो विथ रिसोर्ट प्रालिका प्रबन्ध निर्देशक मिंगुर शेर्पाले जानकारी दिनुभयो । करीब एक करोड लगानीमा २५ रोपनी क्षेत्रफलमा चैतबाट कालिज पालन व्यवसाय सुरु गरेको उल्लेख गर्दै उहाँले कालिज दशैबाट बिक्रि हुने बताउनुभयो ।

कालिज पालन गरिएको स्थान समुद्री सतह देखि दुई हजार मिटरको हाराहारीमा रहेकाले कालिज व्यवसायका लागि उपयुक्त मानिएको छ । चिसो ठाउँमा अर्गानिक व्यवस्थापनमा पालिएकोले यहाँको कालिज स्वादिष्ट र गुणस्तरीय हुने बताइएको छ । कालिजहरु एक देखि डेढ केजीसम्मका हुने र यसको मुल्य तीन हजार देखि ३५ सयसम्म पर्छ । कालिजको मासुको विभिन्न परिकारका लागि ‘कालिज रेस्टुरेन्ट’ सञ्चालनमा ल्याउने र रेस्टुरेन्टमा कालिजको सेकुवा, तास, सुप, ममः लगायत परिकार खाने व्यवस्था गरिने बताउदै प्रवन्ध निर्देशक शेर्पाले रेस्टुरेन्ट बाटै कालिजको बिक्री वितरण हुने जानकारी दिनुभयो ।

सुरुमा कालिज पालनका लागि नेपालको कानूनले नदिएपनि संशोधित वन ऐनले कालिजको व्यावसायिक पालन गर्न सक्ने व्यवस्था गरेपछि यसको पालन सुरु भएको हो । कालिजहरू प्रायः नेपालको पहाडी क्षेत्रको जंगलमा पाइन्छ । तर हाल फ्रान्सबाट भित्र्याइएका कालिजलाई व्यवसायीक रुपामा पाल्ने गरिन्छ ।

नेपाल भित्र्याइएका यी कालिजहरु ३२ डिग्री भन्दा कम तापक्रममा हुर्कने गर्दछ । तर कालिज पालन व्यवसाय अन्य व्यवसायभन्दा महंगो व्यवसाय भएकोले सहुलियत कर्जा भए सहज हुने प्रवन्ध निर्देशक शेर्पा बताउनुहुन्छ ।
कालिज एक जंगली चरा हो । यो कुखरा जस्तै हुने भएकाले यस्लाई बन कुखुरा पनि भन्ने गरिन्छ । कालिजले सामान्य कुखुराको जस्तै प्रोटिन बढी भएको दाना खाने गर्दछन । कालिजको मासु सुत्केरी महिला र युरिक एसिड भएका लागि राम्रो हुने गरेको छ । त्यसैले पनि कालिजको माग बढ्दो छ । पछिल्लो समय युवाहरुको रोजाईमा रहेको यो व्यवसायलाई विस्तार गर्नका लागि सरोकारवाला निकायको पनि साथ सहयोगको आवश्यक्ता रहेको शेर्पाले बताउनुभयो ।गोरखापत्र अनलाइनमा खबर छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?