विदेशबाट फर्किएर मेवा खेती, कोरोनाले रोक्यो, भारतीयले छेक्यो

ज्ञानु पंगेनी
कावासोती ।
स्वदेशमै कृषि क्रान्ती गर्ने सपना बोकेर मेवा खेती सुरु गर्नुभएका कृषक मेघराज श्रेष्ठकाे बगैंचामा अहिले मेवा लटरम्म छ । जब बगैंचामा मेवा झुले उहाँले विदेशकाे दुःख विर्सिएर चैनकाे सास फेर्नु भयाे । तर उहाँकाे याे चैन धेरै दिन टिकेन । मेवा त फल्याे उत्पादनपछि बजार नपाउँदा निरास बन्नुभएको छ ।

नवलपरासी पूर्व (नवलपुरको)मध्यविन्दु नगरपालिका ३ रतनपुरमा १५ विघा क्षेत्रफलमा श्रेष्ठले मेवा खेती सुरु गर्नुभएको थियो । तर , मेवा उत्पादन भएर बिक्री गर्ने बेलामा बजार नै नपाउँदा दुई करोड ५० लाख रुपियाँ नोक्सान भएको श्रेष्ठले बताउनुभयो । पहिलो लटमा सबै मेवा बिक्री गर्न पाएको भएदुई करोड ५० लाख रुपियाँ आम्दानी हुने आकलन गरेको श्रेष्ठले बताउनुभयो । मेवाको मुख्य बजार काठमाडौं हो ।

काठमाडौंका व्ययापारीले स्वदेशी मेवा खरीद गर्न नसक्ने बताएपछि आफू निक्कै चिन्तामा परेको श्रेष्ठले गुनासो गर्नुभयो । ‘काठमाडौँका व्यपारीले भारतबाट मेवा ल्याउने रहेछन् । भारतीय मेवा सस्तो पर्छ, नेपालमा उत्पादन भएको महङ्गो हुन्छ त्यसैले खरीद गर्न सक्दैनौ भने । मत छाँगाबाट खसेजस्तै भए । ’ श्रेष्ठले भन्नुभयो ।

एकातिर कोरोना संक्रमणले निम्त्याएको बन्दाबन्दी र निषेधाज्ञाले समयमै मेवाका लागि आवश्यक मलजल र विषादी नपाउँदा सोचेजस्तो उत्पादन नभएको अर्कोतर्फ सस्तो मुल्यमै निःशूल्क ढुवानी गर्दिन्छौ भन्दा पनि व्यापारीले खरीद नगर्ने भनेपछि आफ्नो लगानी र मेहेनत सबै खेर गएको श्रेष्ठले दुःखेसो व्यक्त गर्नुभयो ।

‘बल्ल बल्ल धेरै बिन्ती गरेर तीनटन जति मेवा सस्तै मुल्यमा बेचेँ अरु त सबै कुहिएरै जानेभयो । पाकेका मेवा कति कुहिएर फालिसके सबै मेवा तयारी हुने अवस्थामा छन् । ती पनि सबै कुहिएर फाल्नुको विकल्प छैन ।’ श्रेष्ठले भन्नुभयो । काठमाडौँको बल्खुका व्यापारीलाई सरदर ६० रुपियाँ केजीमा तीनटन मेवा मात्रै बिक्री गरेको श्रेष्ठले बताउनुभयो । अहिले यहाँ रहेका मेवाका बोटबाट दुईसय टन मेवा उत्पादन हुने उहाँ बताउनुहुन्छ । तर , मेवाको बजारै नभएपछि त्यसै खेर जाने भयो भन्ने चिन्ताले उहाँलाई रातदिन पिरोलेको छ ।

लामो समय वैदेशिक रोजगारीमा रहनुभएका श्रेष्ठले आफूले विदेशमा सिकेको शीपलाई स्वदेशमा लागु गरि कृषि क्षेत्रबाट नै समृद्धि हासिल गर्न सकिन्छ भन्ने आफू जस्ता युवालाई उदाहरण दिन सकियोस् भन्ने ठूलो सपना बोकेर मध्यविन्दुमा एग्रिकल्चर एण्ड फरेष्ट कन्जरभेसन सेन्टर स्थापना गर्नुभएको थियो । उहाँले यहाँको माटो सुहाउँदो तरकारी , फलफूल खेती गरि अर्गानिक उत्पादनमा जोड दिन यहाँका स्थानीयमा समेत जागरण ल्याउने योजना बनाउनुभएको थियो ।
सोही सोच अनुसार गत वर्षबाट थाई रेड लेडी सिक्स र रेड लेडी एट प्रजातीको अर्गानिक मेवा खेति सुरु गर्नुभएको थियो । रोपेको पहिलो वर्षबाट नै उत्पादन दिन सुरु गर्ने यस प्रजातीको मेवाले दुई वर्ष मात्रै उत्पादन दिने श्रेष्ठले बताउनुभयो । तर , मेवाको बजार नभएकाले अहिलेको फल सकिएपछि सबै फाँडेर अरु नै केहि गर्ने सोँच बनाएको उहाँले सुनाउनुभयो । मेवा खेतिमा करीब एक करोड लगानी लागेको उहाँले बताउनुभयो ।

सम्बन्धित निकायमा समेत क्षतीका बारेमा जानकारी गराएको भए पनि कुनै पनि प्रतिकृया नआएको उहाँको गुनासो छ । आफ्नै ठाउमा केहि गर्ने सोँच राखेका युवालाई यहाँका स्थानीय तह , सम्बन्धित पक्षले हौसला दिनु पर्नेमा गुनासोको समेत कुनै सुनुवाई नहुँदा दुःख लागेको उहाँले बताउनुभयो ।गोरखापत्र अनलाइनमा खबर छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments