व्यावसायिक बेसार खेतीमा कृषकको आकर्षण

परासी । नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) का कृषक बसार खेतीतर्फ आकर्षित भएका छन् । पछिल्लो समय बेसारको माग बढ्दै जानाका साथै राम्रो आम्दानी हुने भएकाले यहाँका कृषकले व्यावसायिक रुपमा बेसार खेती गर्न थालेका हुन् ।

जिल्लामा व्यक्तिगत तथा सहकारीमार्फत बेसार खेती शुरु गरिएको छ । शुद्ध बेसारको माग बढ्दै गएकाले सहकारीमार्फत आफूहरुले व्यावसायिक रुपमा बेसार खेती शुरु गरेको सुनवल लघु उद्यमी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष नरबहादुर खड्काले बताए । सुनवल नगरपालिका–१ मा सहकारीले बन्दाबन्दीकै बीचमा बेसार खेती शुरु गरेको हो ।

सहकारीमार्फत व्यावसायिक बेसार खेती गरिएको यो जिल्लामै पहिलो हो । मसला उद्योग सञ्चालन गरी बजारमा शुद्ध बेसार(धुलो) उपलब्ध गराउने उद्देश्यले सहकारी आफैँले यसको खेती थालेको उहाँको भनाइ छ । यसबाट खेती गर्नेलाई रोजगारी मिल्ने र अन्य शेयर सदस्यलाई यसको खेती गर्न उत्प्रेरित गर्ने संस्थाले अपेक्षा लिएको छ ।

बजारमा मिसावट बेसार मात्र पाइने भएकाले शुद्ध बेसारको माग बढ्दो छ । “ठूलो क्षेत्रफलमा बेसार खेती गर्ने सोचका साथ हामीले सहकारीमार्फत बेसार खेती परियोजन सञ्चालन गरेका हौँ, तर पर्याप्त बीउ र खेतको अभावका कारण अहिले १२ कठ्ठामा बीउका रुपमा खेती गरेका छौँ, आगामी वर्षदेखि थप विस्तार गर्दै जान्छौँ”, अध्यक्ष खड्काले भने ।

वार्षिक रुपमा प्रतिकठ्ठा तीन क्विन्टलका दरले बेसार उत्पादन हुने अनुमान गरिएको छ । उत्पादित वेसार प्रशोधन गरी आफ्नै ब्राण्डमा शुद्ध बेसार बजार पठाउने संस्थाको तयारी छ । बिचौलिया नियन्त्रण गर्न तथा मिसावट हुन नदिन संस्था आफैँले ससानो परिमाणमा पोको पारेर पनि सीधै खुद्रा व्यवसायीलाई बिक्री गर्ने योजना बनाएको छ ।

उत्पादन तयार हुँदासम्म उद्योग पनि स्थापना भइसक्ने बेसार खेती परियोजनाका उपसमिति संयोजक पर्शुराम कँंवर योगीले जानकारी दिए । उनले भने, “हामीले पहिला चाउमिन उद्योग सञ्चालन गरेका थियौँ, सानो परिणाममा गर्दा बजारमा प्रतिस्पर्धा गर्न सकेनौँ, त्यसपछि बाबियो डोरी, टपरीको उद्योग सञ्चालन गर्ने विकल्प अध्ययन गर्यौं, तर बेसारमा राम्रो आम्दानी हुने, कम लगानी, बजारको समस्या नभएकाले गर्दा यो खेतीलाई अघि बढाएका हौँ ।”

हाल बजारमा प्रशोधित बेसार कृषकसँग प्रतिकेजी रु २०० मा खरीद गरी रु ४०० सम्म बिक्री हुने गरेको संस्थाका अध्यक्ष खड्काले बताए । नगदे र औद्योगिक बाली बेसार पानी नजम्ने हल्का मलिलो, बलौटे माटोमा उब्जाउ हुन्छ । वैशाख÷जेठमा गरिएको खेती पुस÷माघसम्ममा तयार हुन्छ । यसको खेती गर्न ठूलो जनशक्ति आवश्यक नपर्ने र सिँचाइको पनि आवश्यकता नपर्ने र वर्षात्को पानीले नै सिंचाइ हुने कृषकले बताएका छन् ।

अन्नबालीभन्दा राम्रो आम्दानी र खेती गर्न सजिलो भएकाले बेसार खेतीमा कृषकको आकर्षण बढेको हो । उखुको विकल्पमा पश्चिम नवलपरासीका प्रतापपुर, सुस्तालगायत गण्डक क्षेत्रका अधिकांश कृषकले पनि लामो समयदेखि बेसार खेती गरिरहेका छन् ।

पुर्खादेखि नै बेसारखेती गर्दै आएका प्रतापपुर–५ का उमाशङ्कर सिंह खेती गर्न सजिलो र मनग्य आम्दानी हुने भएकोले यस क्षेत्रका धेरै कृषकले बेसार खेती गरिरहेको बताउँछन् । उखु लगाउँदा बाँदर र नीलगाईले सखाप पार्ने गरेको तर बेसारमा त्यस्तो समस्या नरहेको उनले बताए । उनले वार्षिक २० देखि २५ क्विन्टलसम्म बेसार उत्पादन गर्दै आएका छन् । यहाँ उत्पादित बेसारको मुख्य बजार भने नजीकको भारतीय बजार रहेको उनले बताए ।

कृषि ज्ञान केन्द्र परासीका प्रमुख देवेशकुमार मिश्रा जिल्लामा बेसार खेती राम्रो हुने गरेको बताउँछन् । विशेषगरी प्रतापपुर, सुस्तालगायत क्षेत्रमा यसको खेती बढी गरिएको उनले बताए। जिल्लामा करीब २० हेक्टर क्षेत्रफलमा बेसार खेती हुने गरेको ज्ञान केन्द्रले जनाएको छ । रासस

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments