ग्रामीण कृषि सडक चार महिनापछि सञ्चालन

मुग्लिन । चितवनको एक मात्र गाउँपालिका इच्छाकामना गाउँपालिका ग्रामीण पहाडी भेगमा सडक विस्तार गर्ने क्रम चलिरहेको छ । धेरैजसो बस्तीमा सडक पुगे पनि वर्षात् शुरु भएपछि यहाँ सडक प्रायः बन्द हुने गर्छन् । यसपटक पनि गत असारबाटै यहाँका अधिकांश सडक वर्षासँगै झरेको पहिरोले अवरुद्ध हुनपुग्यो । केही सडकमा अझै सवारी गुड्न सकेका छैनन् ।

गत असारदेखि बन्द रहेको साविकको चण्डीभञ्ज्याङ गाविसको कार्यालय रहेको ढुङ्ग्रे गाउँ जोड्ने वडा नं ६ स्थित जलविरे–चण्डीभञ्ज्याङ ग्रामीण कृषि सडक शनिवारबाट पूर्णरूपमा सञ्चलानमा आएको छ । वर्षाका कारण पहिरो झरेर चार महिनादेखि अवरुद्ध रहेको उक्त सडक करिब तीन हप्ताको प्रयासपछि शनिबारदेखि सञ्चालन भएको गाउँपालिका अध्यक्ष गीताकुमारी गुरुङले जानकारी दिए ।

लामो समयदेखि उक्त सडक अवरुद्ध हुँदा याकराङ, चनौटे, मस्राङ, ढाला, पाङ्डे, ढुङ्ग्रेलगायत स्थानीयवासीलाई आवतजावत गर्न कठिन भएको थियो । यहाँका बासिन्दाले उब्जाएका तरकारी बजार लैजान नपाउँदा किसान मारमा परेका थिए ।

इच्छाकामना गाउँपालिकाको पहलमा अवरुद्ध भएका कृषि सडक दशैँ अगाडि नै सञ्चालनमा ल्याइएपछि स्थानीयवासीलाई सहज भएको स्थानीय लोक गुरुङले बताए। उनले भने, “अवरुद्ध सडक सञ्चालन भएसँगै यहाँका बासिन्दाले उत्पादन गरेका कृषिजन्य वस्तुहरु बजारसम्म लैजान सहज हुने भएको छ, विशेषगरी दशैँमा चामललगायत धेरै सामान पनि बजारबाट गाउँ ल्याउनुपर्ने हुन्छ ।”

गाउँपालिका अध्यक्ष गुरुङले वर्षायाममा अवरुद्ध भएका सबै ग्रामीण सडकको पहिरो पन्छाई यातायात सञ्चालन गराउन गाउँपालिकाले पहल गरिरहेको बताए । अध्यक्ष गुरुङले भने, “गाउँपालिकाका ग्रामीण भेगका सबै अवरुद्ध सडक सञ्चालन गराउनका लागि धमाधम काम भइरहेको छ, दशैँअघि सबै सडकको पहिरो हटाएर यातायात सञ्चालन गरिने छ ।” उनका अनुसार धेरैजसो अवरुद्ध सडकको पहिरो हटाएर यातायात सञ्चालन भइसकेका छन् । रासस

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments