किसानलाई अनुदानमा गाई वितरण

गुल्मी : गुल्मीमदाने–२ बांझकटेरीका किसानलाई अनुदानमा गाई वितरण गरिएको छ । दूध उत्पादन गरी मदाने गाउँपालिकालाई दूधमा आत्मनिर्भर बनाउने उद्देश्यले किसानलाई गाई वितरण गरिएको पालिकाले जनाएको छ । मालिका बहुउद्देश्यीय कृषि समूहका २१ जना किसानलाई गाई वितरण गरिएको वडाध्यक्ष माधवप्रसाद भुसालले जानकारी दिए । ‘वडाका २१ किसानलाई गाई दिएका छौं’, उनले भने, ‘केही वर्षमा दूध बाहिर बेच्ने योजना छ ।’ उनका अनुसार किसानलाई कृषिमा व्यवसायिक बनाई दूधबाट आम्दानी गर्ने लक्ष्य रहेको समेत बताए ।

पछिल्लो समय कृषि पेसामा लागेर राम्रो प्रतिफल नपाएका किसान गाउँपालिकाले दूधालु गाई दिएपछि खुसी भएका छन् । बांझकटेरीका किसान निमकान्त भुसालले केही वर्षमा दूध बेचेर राम्रो आम्दानी गर्ने बताए ।

‘बल्ल जनताको सरकार गाउँमा आएजस्तो भयो, किसानलाई सरकारले हेरे उत्पादन बढाउन सकिन्छ’, उनले भने । लामो समय कृषि पेसामा बिताएकी सोही ठाउँकी तारा भुसालले पनि गाई पाउँदा खुसी व्यक्त गरिन् । ‘थोरै दूध दिने भैंसी त पालिराखेकी थिएँ, ताराले भनिन्, ‘घरमै ठिक्क हुन्थ्यो । अब दूधालु गाईबाट दूध,घ्यु बेच्ने आशा छ ।’

गाउँपालिका र कृषकको आधा–आधा लगानी रहेको २१ वटा गाई धेरैजसो ब्याउने भएका छन् । पालिकाले किनेर किसानलाई गाई दिएको हो । २० देखि ७० हजारसम्मका तीन जातका गाई वितरण गरिएको प्रमुख प्रशासकीय अधिकृत सुरेश भण्डारीले जानकारी दिए । होनिस्टिक, जर्मनी र जर्सी गाईहरू रूपन्देही र कपिलवस्तुबाट किनेर ल्याइएको भण्डारीले बताए ।

किसानले प्राप्त गरेका गाईबाट बाछाबाछी जन्मिएपछि उनीहरूले फेरि अन्य किसानलाई हस्तान्तरण गरेपछि मात्रै उनीहरूले प्राप्त गरेको गाई आफ्नो बनाउन पाउने छन् ।

सडक निर्माणलाई भन्दा कृषकको आम्दानी बढाउने कार्यक्रमलाई प्राथमिकतामा राखिएको मदाने गाउँपालिका प्रमुख दानबहादुर केसीले बताए । ‘अब सडकका नयाँ ट्र्याक खोल्दैनौं,’ उनले भने, ‘किसानलाई व्यवसायिक बनाउनेतर्फ लागेका छौं ।’ उनले पालिकालाई दूधमा आत्मनिर्भर बनाएर अन्यत्रै निर्यातसमेत गर्न किसानलाई जर्सी गाई दिएको बताए ।
अन्नपुर्णपोस्ट दैनिकबाट

Subscribe
Notify of
guest

2 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments