अनुदानको चामलमा कीरा भेटेपछि धमाधम फिर्ता

मुगु — सरकारी अनुदानको चामल बिक्री नहुँदा गोदाममै सडेको छ । खरिद गरेकाहरूले पनि चामलमा कीरा भेटेपछि धमाधम फिर्ता गर्न थालेका छन् ।

मुगुको खाद्य गोदाममा बिक्री नभई थन्किएको जापानिज मोटा चामल ।
‘गोदामबाट ल्याएको चामलको बोरा खन्याएर हेर्दा कीरा देखियो, फेरि अर्को बोरा ल्याएँ, त्यसमा पनि कीरा थियो,’ जिल्ला समन्वय समितिमा कार्यरत खरिदार हंसबहादुर ऐडीले भने, ‘चामल सडेर खानै नमिल्ने भएको रहेछ, त्यसैले फिर्ता गरेँ ।’ उनले एक बोरा चामल १६ सय ५० रुपैयाँमा किनेको बताए ।
तराईबाट पुरानो चामल ढुवानी भई जिल्ला आउने र यहाँ पनि लामो समयसम्म गोदाममै थन्किने गरेकाले सडेको हो । पछिल्लो समय कर्मचारी र स्थानीयले खरिद गर्न छोडेपछि गोदाम सडेको चामलले भरिभराउ छ । उपभोक्ता बजारको चामल खरिद गरिरहेका छन् ।

कुनै समय पाँच केजी चामलका लागि गोदाममा भीड लाग्ने स्थानीय अचेल देखिँदैनन् । नेतादेखि प्रमुख जिल्ला अधिकारीसम्मकहाँ पाइने चामलका कुपन पनि हराइसकेका छन् । संस्थानका जिल्ला प्रमुख भरतराज खनियाका अनुसार विशेषगरी स्थलमार्गबाट ढुवानी भई आएको सोना मनसुली, मकवानपुरलगायत चामल गोदाममा थन्किएको छ । ‘अरू चामल राम्रै छ, बिक्री पनि भइरहेको छ,’ उनले भने, ‘तर सडेको चामलले समस्या भइरहेको छ ।’

सरकारले अनुदानमा पठाएको ४ सय ५० क्विन्टल जापानी चामल एक दाना पनि बिक्री हुन सकेको छैन । त्यो पनि गोदाममा सडद गएको छ । उक्त चामलको मूल्य प्रतिकेजी ६५ रुपैयाँ राखिएको छ । सदरमुकामस्थित गोदाममा १० हजार क्विन्टल, श्रीकोट डिपोमा १ हजार ५ सय, सोरुकोट डिपोमा ४ हजार २ सय र पुलु डिपोमा २ हजार ५ सय क्विन्टल गरी १३ हजार क्विन्टल चामल ढुवानी हुँदै आएको छ । संस्थान प्रमुख खनिया गाउँमा रहेका डिपोको चामल बिक्री भए पनि सदरमुकामस्थित गोदामको चामल बिक्रीमा समस्या भएको बताउँछन् । उनका अनुसार गमगढीस्थित गोदाममा दुई वर्षयताकै २ हजार ५ सय क्विन्टल चामल बिक्री हुन बाँकी छ ।

कान्तिपुर बाट

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments