चनाको सातु बेचेर करोडपति

रौतहट — चन्द्रपुर ४ का ५० वर्षीय अनिल कार्कीको दिनचर्या चनाको सातुबाट सुरु हुन्छ । उनको सातु लोकप्रिय छ । निकै मेहनत गरी उनी सातु बनाउँछन् । गर्मीमा सातु पिउँदा स्वास्थ्यका लागि फाइदा हुन्छ । त्यसमा पनि उनी निकै परिकार राखेर सातु बनाउँछन् । पिउँदा निकै स्वादिष्ट हुने ग्राहक बताउँछन् ।

मोरङको बयनगर गाउँबाट दुई दसकअघि चन्द्रनिगाहपुर आएका कार्कीले ठेलामा चनाको सातु बेच्न थालेको १० वर्ष नाघिसकेको छ । सानो व्यवसाय गरेछु भन्ने उनलाई कहिले पछुतो भएन । हेर्दा सामान्य देखिए पनि उनको व्यापार ठूलो छ । बिहान एक हजारभन्दा बढी कमाइ गरिसकेका हुन्छन् । थोरै लगानीमा मेहनत गरे पैसा कमाउन सकिन्छ भन्ने उदाहरण बनेका छन् कार्की ।

होटलमा खाना पकाउने काम छाडेर पुरानो ठेला किनेर चनाको सातु बेच्न थाले । ऋण गरेर भए पनि विदेश गएर पैसा कमाउने उनले सोच बनाएका थिए । ‘सीप नभएको मान्छे विदेश गएर के गर्नु ? उनले भने, ‘आफ्नै देशमा सानै भए पनि काम गर्ने सोच पलाएपछि विदेश गएर पैसा कमाउने सपना त्यत्तिकै हरायो । अहिले ठेला व्यवसायबाट सन्तुष्ट छु ।’ एक दशकको अवधिमा चन्द्रनिगाहपुरको मुहारै फेरियो, नयाँनयाँ व्यापारिक पसलहरू खुलेका छन् ।

तर उनको ठेला फेरिएको छैन । त्यही ठेलाले उनको जीवन फेरिदिएको छ । बिहान सातु बेचेर दिउँसो राजमार्ग छेउमा त्यही ठेलामा विभिन्न प्रकारको खाजा बनाउँछन् । शाकाहारी खाजा खान उनको ठेलामा भीड लाग्छ । बिहान सातु पिउन स्थानीय रैथानेहरू सातु पसलमा पुग्छन् । स्वादअनुसारको सातु घोल्न लगाउँछन् । केहीले थपिथपी पिउँछन् । गर्मी मौसममा उनको ठेला वरिपरि सातु खानेहरूको भीड देखिन्छ । सातुका पारखीहरू स्वादअनुसार काँचो प्याज, कागतीको रस, मसला, बिरे नुन मात्रै राख्न लगाउँछन् । दैनिक १० केजी सातु बिक्री गर्छन् । ‘उनको हातमा सातु बनाउने जादु नै छ,’ कार्कीका नियमित ग्राहक भरत आचार्यले भने, ‘चोक आएपछि एक गिलास सातु नपिई सुखै छैन । ग्राहक तान्ने उनमा कला छ ।’

१० वर्षअघि तीन रुपैयाँ गिलासमा सातु बिक्री हुन्थ्यो । अहिले ३० रुपैयाँ पुगेको छ । यहाँ राम्रो चनाको सातु पाइँदैन । भारतको बैरगनिया बजारका व्यापारीले घरमै चनाको सातु ल्याइदिन्छन् । एकपटकमा एक सय किलोसम्म किन्छन् । ठेलाको व्यापारमा उनकी श्रीमतीले सघाएकी छिन । दुबै जना बिहानदेखि बेलुकासम्म यसैमा व्यस्त हुन्छन् । कसैले व्यापारबारे सोधे भने उनी खुलस्त बताउँछन् ।

हिचकिच्याउँदैनन् । बसका यात्रु समेत उनको सातु मन पराउँछन् । सातु बेचेरै उनी करोडपति बनेका छन् । हेर्दाहेर्दै उनले अहिले २ तले पक्की घर बनाइसकेका छन् । गाउँमा केही जमिन समेत जोडेका छन् ।

उनका २ छोरामध्ये एउटाले १२ कक्षा उत्तीर्ण गरेका छन् । अर्कोले १० कक्षाको परीक्षा दिएर बसेको छ । उनले दुबैलाई राम्रै विद्यालयमा पढाए । आफूले पढ्न नपाए पनि छोरालाई पढाउन पाएकोमा उनलाई ठूलो सन्तुष्टि मिलेको छ । अहिले मासिक ५० हजारसम्म आम्दानी हुने गरेको उनले बताए ।

कान्तिपुर दैनिकबाट

Subscribe
Notify of
guest

2 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments