खेताला पाउनै मुस्किल

मलंगवाः काम गर्ने युवाहरू विदेश पलायन भएपछि धान रोपाइँ गर्न किसानलाई समस्या भएको छ। खेताला नपाएपछि चर्को पारि श्रमिक दिएर भए पनि खेती गर्नुपरिरहेको किसानको भनाइ छ।

तीन दिन लगातार वर्षासँगै खेतमा पानी जमेपछि यहाँका किसान धान रोप्न व्यस्त भएका छन्। अब तीन–चार दिन वर्षा नभए खेतको पानी सुक्ने चिन्ता स्थानीय किसानलाई छ। लामो समय पानी परेन भने ब्याड पनि सुक्ने त्रासका कारण स्थानीय किसान अहिले महँगो मूल्य तिरेर खेती गर्न बाध्य भएका छन्।

औरहीका जयनारायण साहले काम गर्ने युवा गाउँमा नभएको र बाँकी युवाले चर्को पारि श्रमिक लिने गरेको बताएका छन्। बेलुका सोध्न जाँदा ‘तपाईंकै खेतमा जान्छु’ भन्ने मजदुर बढी रकम पाए अर्काको खेतमा कुदने गरेकाले समस्या भएको उनको भनाइ छ।

‘अहिले रोपाइँ गर्ने समय छ, गाउँमा थोरै खेताला छन्’, उनले भने, ‘समयमै खेत रोपिएन भने खेती पछि पर्र्न सक्छ। कामदारलाई चर्को मूल्य तिरेर भए पनि खेती गर्नु बाध्यता छ।’

किसानहरू बढी पैसा तिरेर खेताला लैजान होडबाजी गर्ने गरेको मलंगवाका योगनारायण पण्डितले बताए। ‘मजदुरको भाउ किसानले नै बढाएका हुन्’, उनले भने, ‘खेताला अभाव भएपछि एक जनालाई ७ सयसम्म तिर्नुपर्छ। त्यसमाथि नास्ता, खानासमेत खुवाउनुपर्छ।’

औरहीका रामउगर साहले यस्तै अवस्था रहे भविष्यमा गएर किसानले धान खेती छाड्न सक्ने बताए। उनका अनुसार खेत जोताइ, रोपाइँ, गोडमेल, मल र कटाइको हिसाब गर्ने हो भने आम्दानीभन्दा बढी खर्च हुन्छ। ‘धान काटेपछि खेतमा हुने गहुँ र दलहन बालीले किसानलाई केही राहत हुने गरेको छ’, उनले भने, ‘वर्षमा एक मात्र बाली उत्पादन हुने हो भने कुनै पनि किसानले धान खेती गर्र्र्दैन।’

स्रोत:अन्नपुर्नपोस्ट

Subscribe
Notify of
guest

3 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments