पाउडरले दूध फालाफाल

महोत्तरी — धनुषाको ढल्केबरस्थित जनकपुर दूध वितरण आयोजनाले साउन लागेदेखि दूध खरिद गर्न बन्द गरेको छ । आयोजनाले खरिद गर्न नमानेपछि ५ जिल्लाको दैनिक ५ हजार लिटर दूध खेर जान थालेको छ ।

दूध नबिक्दा हजारौं किसानको दैनिकी प्रभावित भएको छ । निजी डेरीले भारतीय पाउडर दूध खरिद गरेपछि भैंसीको दूध बिक्री हुन छोडेको हो । ढल्केबर आयोजनाले महोत्तरी, सर्लाही, सिन्धुली, उदयपुर र धनुषाका सयभन्दा बढी सहकारीबाट दूध खरिद गर्दै आएको थियो । यी सहकारीले ग्रामीण भेगका हजारभन्दा बढी किसानबाट संकलन गरी गौशालालगायत नजिकका चिस्यान केन्द्रमा पुर्‍याएको दूध ढल्केबरस्थित आयोजनाले खरिद गर्छ । जनकपुर आयोजनाले दूध किसानलाई मासिक ३० देखि ४० लाख रुपैयाँ भुक्तानी गर्दै आएको थियो । अहिले दूध लिन छाडेपछि किसान यो आम्दानीबाट वञ्चित रहेको महोत्तरी, भरतपुरस्थित जय हनुमान डेरीका सञ्चालक ललेन्दर यादवले जनाए ।

दूध खरिद नगरे कडा आन्दोलनमा उत्रने किसानले चेतावनी दिएका छन् । बुधबार बिहानै जय हुनमान डेरी पुगेर पनि दूध न बिकेपछि गौशाला–१० की मिथिला देवी आक्रोशित भइन् । ‘दुधिया (मदिरा) जति पनि बिक्ने, दूध भने कोही लिन नमान्ने, यो कस्तो देश भयो ?’ उनले प्रश्न गरिन् । जय हुनमान डेरीका यादवका अनुसार दूध खरिद बन्द भएदेखि किसान झगडै गर्छन् । ‘सबै दिन तपाईंले लिने, अब लिन्नँ भन्न पाइन्छ भनेर किसान बाझ्न थाल्छन्,’ उनले भने । दूध विकास संस्थानले आयोजनालाई दैनिक १ हजार ५ सय लिटर खरिद गर्ने कोटा तोकेपछि किसानको दूध बिक्न छाडेको जनाएको छ । ढल्केबरस्थित जनकपुर दूध वितरण आयोजनका म्यानेजर योगेन्द्र साहका अनुसार संस्थाले तोकेको कोटाभन्दा दोब्बर बढीले दैनिक ३ हजार लिटर बढी दूध संकलन हुने गरेको छ । संकलितमध्ये २ हजारजति मात्र स्थानीय खपत हुन्छ । सरदर हजार लिटरले बजार नपाउँदा सहकारीलाई पत्राचार गरेरै अर्को व्यवस्था नभएसम्म किसानबाट दूध संकलन गर्न रोक लगाएको उनले जनाए ।

खपत हुन छाडेपछि ढल्केबर आयोजनाले नियमित रूपमा दूध ढुवानी नगर्दा चिस्यान केन्द्रमा अहिले दूध थुप्रिएको छ । गौशालास्थित दूध चिस्यान केन्द्रका टेक्निकल असिस्टेन्ट विनोद थापाका अनुसार त्यहाँ संकलित २ हजार ९ सय ५ लिटर दूध ९ दिनदेखि अलपत्र छ । यसअघि ढल्केबर आयोजनाले हरेक २ देखि ३ दिनमा दूध लिएर जान्थ्यो । यो समस्या पाँचवटै जिल्लामा रहेका चिस्यान केन्द्रको हो । ‘यहाँ ठाउँ भए पो चिस्यानबाट दूध उठाउने,’ आयोजना म्यानेजर साहले भने ।
source:www.kantipurdaily.com

Subscribe
Notify of
guest

386 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments