बँदेल धपाउन दिनरात पहरा

maize

सल्यान — सिद्धकुमाख– ५ राम्री र आखरेनीमा बँदेलले बाली नष्ट गर्न थालेपछि किसानले दिनरात बारीमै पहरा दिन थालेका छन् । बँदेलले मकै, हलेदो, पिँडालु, मास लगायतका बाली नष्ट गर्न थालेपछि उनीहरू पहरा बस्दै आएका छन् ।
स्थानीय कमारो बुढाथोकीले १५ रोपनीभन्दा बढी जग्गामा लगाएको बाली आधाभन्दा बढी बँदेलले नष्ट गरेको बताए । ‘मकैमा घोगा लाग्न थालिसकेको थियो, पिँडालु पनि राम्रै फलेको थियो,’ उनले भने, ‘बँदेलले राति आएर नष्ट पार्न थालेको छ ।’ उनले बँदेल धपाउन पालो लगाएर रातदिन बारीमा पहरा दिन थालेको बताए । रातको समयमा बँदेल धपाउन जाग्राम बस्न थालेको उनको भनाइ छ ।

स्थानीय नुमबहादुर ओलीले बँदेलले बाली नष्ट गरेपछि उत्पादन घट्ने भन्दै स्थानीयवासी चिन्तित भएको बताए । उनले २० रोपनीमा लगाएको मकैमध्ये आधाभन्दा बढी नष्ट भएको छ । ‘बँदेलले मकै ढालेर चौपट पारेको छ,’ उनले भने, ‘उत्पादन घटेपछि यसपालि जीविकोपार्जनमा समस्या पर्ने देखिन्छ ।’ राम्री र आखरेनीका एक सय ५० बिघा बढी क्षेत्रफलमा लगाइएको मकै लगायतको बाली बँदेलले क्षति पुर्‍याएको स्थानीयको गुनासो छ ।

करिब एक सय घरधुरीको मकैबारीमा सयभन्दा बढी परिवार प्रभावित भएका छन् । दिनरात बारीमै पहरा दिँदासमेत बाली जोगाउन हम्मेहम्मे परेको ओलीले बताए । एकैपटक १२/१५ वटा बँदेल बारीमा पस्ने गरेकाले धपाउन समस्या भएको उनको भनाइ छ । बारीमा त्रिपालको टहरा बनाएर पहरा दिइरहेको उनले जनाए । वन कार्यालयले बँदेल मार्न प्रतिबन्ध लगाएकाले समस्या भएको स्थानीयको भनाइ छ । बर्सेनि बँदेलले क्षति पुर्‍याउने गरेकाले केही किसानले बाली लगाउनै छोडेको स्थानीयको भनाइ छ ।

बँदेलले चार वर्षदेखि बालीमा क्षति पुर्‍याउँदै आएको बुढाथोकीले बताए । ‘बाली लगायो, सबै खाइदिन्छ,’ उनले भने, ‘भित्र्याउने पाइँदैन त्यसैले केही किसानले बाली नै लगाउन छोडेका छन् ।’ उनका अनुसार बँदेलले धान, कोदोसमेत रहन दिएको छैन । विगत वर्षमा मकै, धान, कोदो लगायतका बालीले वर्षभरि नै खान पुग्ने भए पनि केही वर्षदेखि बँदेलले बाली नष्ट गर्दा समस्या भएको किसानको गुनासो छ ।

पहरा दिँदा निद्रा र थकाइसमेत बिर्सन थालेको स्थानीय बुद्धिराम बुढाथोकीले बताए । बँदेलको हूल बारीमा पसे विभिन्न उपाय गरेर धपाउँदै आएको उनको भनाइ छ । ‘निदाएको बेला थाहा नहुने भएकाले आलोपालो जाग्राम बस्ने गरेका छौं,’ उनले भने, ‘कुन बेला हूल आएर मकै नष्ट गर्छ, थाहै हुँदैन ।’ बँदेलको डरका कारण आठ बिघा बढी जग्गा बाँझो रहेको स्थानीय आइतु बोहराले बताए ।
source:www.kantipurdaily.com

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments